
काठमाडौं २० फागुन । राणा शासनको अन्त्यसँगै २००७ साल फागुन २० गते जन्मिएको पुरानो पेशागत संगठन हो, नेपाल चिकित्सक संघ (एनएमए) । आफ्ना पेशागत हक–अधिकारका लागि डाक्टरहरूले बनाएको यो संगठनले सात दशकभन्दा लामो यात्रामा देशका हरेक राजनीतिक आरोह–अवरोह छिचोलेको छ । कहिलेकाहीं त राजनीतिक परिवर्तनको आन्दोलनको एउटा मुख्य हिस्सेदार समेत बनेको छ । आज फागुन २०, नेपाल चिकित्सक दिवस । देशभरका चिकित्सकले यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेका छन् । यो दिनलाई चिकित्सकहरुको ‘एकता’ दिवसका रुपमा पनि लिन्छन् । यसपालि ७५औं चिकित्सक दिवसको नारा ‘नेपालका लागि नेपाली चिकित्सक’ भन्ने छ । तर पछिल्ला वर्षमा डाक्टरले देश छाड्ने क्रम बढ्दो छ । नेपाली डाक्टर आफ्नो कामप्रति कति खुसी छन्, कस्ता खालका समस्या भोगिरहेका छन्, राज्य स्वास्थ्य सेवाप्रति कत्तिको संवेदनशील छ भन्ने विषयमा केन्द्रित भएर अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले नेपाल चिकित्सक संघका निर्वतमान अध्यक्ष डा. लोचन कार्कीसँग गरेको कुराकानी:नेपाल चिकित्सक संघको जन्म कसरी भयो ? नेपाल चिकित्सक संघ २००७ साल फागुन २० जन्मिएको हो । ७ फागुनमा प्रजातन्त्र घोषणा भएसँगै २० जनाभन्दा बढी चिकित्सक बसेर संघको स्थापना भयो । सेवा, हकहित र एकताको भावनाका साथ डा. सिद्धिमणि दीक्षित पहिलो अध्यक्ष भएर संघ स्थापना भएको थियो । अहिले ७५औं दिवस मनाइरहेका छौं । यसबीच संघले आफ्नो हकहितका लागि लड्ने, स्वास्थ्य सेवामा सरकारलाई ‘वाच डग’ को भूमिकामा मात्रै नभएर नीतिगत रुपमै सहयोग गर्दै आएको छ । चिकित्सकले आफ्नो धर्म निभाइरहेका छन् । तर गाँस, बास, कपासका लागि चिकित्सकले संघर्ष गरिराख्नुपरेको छ । अर्को, सुरक्षाको विषय पनि जोडिएको छ । ७५औं वर्षमा प्रवेश गर्दा पनि चिकित्सक आधारभूत विषयमै लडाईं गरिरहेका छन् ।सेवा-सुविधा र सुरक्षाकै विषयलाई लिएर डाक्टर विदेश पलायन भइरहेका छन् । तथ्यांकले भन्छ– नेपालमा डाक्टर खुसी नभएर बाहिर गइरहेका छन् । जीवनयापन गर्नसक्ने सेवा–सुविधा सरकारले व्यवस्था गरे आफ्नै देशमा बसेर काम गर्थे । दिवस मनाइरहँदा एकता, सेवाको कुरा गरिरहँदा कतै न कतै चिकित्सकको मन खिन्न भइरहेको छ ।
यस वर्षको दिवसको नारा नै नेपालका लागि नेपाली चिकित्सक भन्ने छ । तर डाक्टरले देश छोडिरहेका छन् नि !
यस विषयमा केही महिना अगाडि पनि अनुसन्धान गरेको थिएँ । जनरल अफ नेपाल मेडिकल एसोसिएसनमा प्रकाशित भएको छ । प्रत्येक वर्ष बाहिर जाने क्रम पाँच सयले बढिरहेको छ । किन डाक्टर बाहिर जान्छन् भन्ने आधार खोज्दा, पहिलो कुरा सेवा–सुविधामै जोडिएको छ । एकार्तिर एमबीबीएस पढ्न ४०-५० लाख तिनुपर्छ । एमबीबीएस उत्तीर्ण भइसकेपछि पनि एक चिकित्सकले ४८ हजारमा काम गर्नुपर्ने बाध्यता छ । सरकारले तीन दशकदेखि दरबन्दी खोलेको छैन । स्थायी जागिरको अवसर छैन ।राज्यले छुट्टै बजेट राखेर भए पनि बाहिर जान खोज्ने स्वास्थ्यकर्मीलाई देशमै टिकाउनुपर्छ । तलब धेरै दिन नसके पनि अन्य सेवा-सुविधा दिएर आकर्षित गर्नुपर्छ । चिकित्सकलाई सुरक्षाको महसुस गराउनुपर्छ ।निजी अस्पतालतिर सेवा–सुविधा एकदमै न्यून छ । कुनै सानो घटना हुँदा पनि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइहाल्छ । चिकित्सक संघको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनलाई परिमार्जन गर्यौं । स्वास्थ्यकर्मी र अस्पतालमा आक्रमण गर्नेलाई सिधै थुनामा लैजाने बनायौं । तर कतिपय विषय भने अझै कार्यावन्यन गर्न सकिएको छैन ।चिकित्सकलाई तलब धेरै दिन नसके पनि करको विषयमा केही सहुलियत दिन सकिन्छ । सरकारको नीतिका कारण चिकित्सक पेशा उपचारको नभएर व्यापारिक जस्तो भएको छ । म संघको नेतृत्वमा रहँदा करको विषयमा अर्थ मन्त्रालय सकारात्मक थियो । तर चिकित्सकलाई करमा छुट दिँदा अन्य पेशागत संगठनलाई पनि गर्नुपर्ने हुन्छ भन्ने उहाँहरुको कुरा थियो ।चिकित्सकले रातिको समयमा घरमै आराम गर्छु भन्दा बिरामीले सेवाबाट वञ्चित हुने अवस्था आउँछ । दुर्भाग्यवश भन्नुपर्छ, दिनरात काम गरिरहेको एउटा चिकित्सक आफैं बिरामी हुँदा भने गोजीबाट पैसा झिकेर उपचार गराउनुपर्ने अवस्था छ । तलब कम भएकै कारण नेपाल चिकित्सक संघ, साथीभाइसँग पैसा उठाएर उपचार गराउनुपर्ने अवस्था छ । विकसित मुलक वा नेपालमा चिकित्सकीय अध्ययन र उपचार एकै हो । साउथ एसियाका मुलक (भारत, श्रीलंका, माल्दिस) लाई हेर्दा संसारको सबैभन्दा कम सेवा-सुविधामा नेपालका चिकित्सकले काम गरेका छन् । मुलुक छोडेर जाँदा सुविधादेखि सुरक्षाको वातावरण राम्रो हुन्छ बाहिर किन नजाने ?
दक्ष जनशक्ति पलायन हुँदैछ । यसले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव हुने देखियो नि !
सरकारले करोडौं लगाएर उत्पादन गरेका दक्ष चिकित्सक विदेशीले पाइरहेका छन् । अध्ययन गराइयो, बिरामी हेरेर चिकित्सकीय सिप सिके तर यहाँ रोक्न सकिएन । मेडिकल काउन्सिलको तथ्यांकले विदेश जाने चिकित्सकको ट्रेन्ड डरलाग्दो देखिन्छ । नेपालमा बसेका चिकित्सकले केही वर्षका लागि स्वास्थ्य सेवा धान्न सक्लान् । तर कार्यरत चिकित्सकको अवकाश हुन्छ वा काम गर्न नसक्ने अवस्था आउँछ, त्यसपछि नेपालको हालत नाजुक हुने देखिन्छ ।
चिकित्सक कम तलब भएका कारण बाहिर गएका हुन् कि यहाँ काम गर्ने वातावरण नभएको हो ?
अहिले कर्जा लिएर एमबीबीएस अध्ययन गर्दा ब्याज समेत तिर्नसक्ने अवस्था छैन । जबकि एमबीबीएस, एमडी गर्दा गरेको लगानी पाँच वर्षभित्र प्राप्त गरिसक्नुपर्छ । तर त्यस किसिमको सेवा-सुविधा हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ ।
नेपालमा भने वर्षौंदेखि आवासीय चिकित्सकले न्यूनतम सेवा-सुविधाका लागि लडाईं गर्नुपरेको छ । जबकि, एमबीबीस अध्ययन पूरा गरी अमेरिका गएको त्यही चिकित्सकले नेपालका वरिष्ठ चिकित्सकभन्दा बढी सेवा-सुविधा प्राप्त गरिरहेका हुन्छन् ।
अध्ययन गरेपछि मानिसले स्थायी जागिर खोज्छन् नि । यहाँ त्यस्तो अवसर नै छैन । स्थायित्व खोज्न पनि चिकित्सक बाहिर जाने नै भए । आजका दिनमा परिवार चलाउनकै लागि ‘झोले डाक्टर’ बनेर विभिन्न अस्पताल चहार्नुपर्ने बाध्यात्मक परिस्थिति हुनुभन्दा स्थायी जागिरका लागि विदेश नै रोजाइ बन्न पुग्यो ।क्लिनिक प्राक्टिस गर्दा आफ्नो अनुभव तिखार्न गाउँ–गाउँ जानका लागि उपकरण, अप्रेसन थियटर, टिम छैन । त्यसकारण भौतिक संरचना नहुँदा प्राक्टिस पनि राम्रो गर्न पाउँदैनन् । करिअरमा माथि जाने आफ्नो कौशलतालाई अगाडि बढाउने अवस्था छैन । चिकित्सक अभ्यास गरिरहँदा केही गल्ती भइहाल्यो भने ज्यान जोगाउन भागेर हिँड्नुपर्छ ।अन्य पेशाभन्दा चिकित्सक पेशा फरक छ । एमबीबीएस गर्न पाँच वर्ष, त्यसपछिको दुई वर्ष अनुभव र एमडी पूरा गर्दा, लाइसेन्स लिँदा ३० वर्ष उमेर नाघिसकेको हुन्छ । त्यतिबेलासम्म अर्को पेशामा हुँदा त करिअरमा ‘सेटल’ भइसक्छ । बाहिर मुलुकमा चिकित्सकको अध्ययन सकिँदा लगानीअनुसार सुविधाको व्यवस्था गरिएको हुन्छ ।कोरोना महामारीपछि संसारभर चिकित्सकलाई हेर्ने नजरमा परिवर्तन भएको छ । अमेरिकाले कानुन परिवर्तनसँगै कर घटायो । भूकम्पका बेला पनि चिकित्सकले जोखिम मोलेर सेवा दिए । कोरोना महामारीको समयमा सुरक्षाको साधन (माक्स र पीपीए) नहुँदा पनि सेवा दिए । चिकित्सकले अब माया, सद्भाव पाउँछन् भन्ने आशा थियो । तर नेपालमा अझै पनि चिकित्सकलाई हेर्ने नजरमा परिवर्तन भएको छैन ।
चिकित्सकको औसत आयु, मानसिक तनाव, डिप्रेसन, आत्महत्या र सम्बन्धविच्छेद उच्च देखिन्छ । यस विषयमा मैले अध्ययन पनि गरिहेको छु । केही महिनाभित्रमा अध्ययन पूरा हुन्छ । परिवारलाई दिनुपर्ने समय, आफूले गर्नुपर्ने आराम कम भएका कारण प्रारम्भिक अध्ययनमा अन्य पेशाभन्दा मेडिकल पेशामा तनाव बढी देखिएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन सेवा दिने दक्ष जनशक्तिलाई फ्रेस माइन्डमा काम गर्ने वातावरण दिनुपर्छ । थाकेको शरीर र दिमागले गुणस्तरीय सेवा दिन सक्दैन ।