भागचरण यादव
जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारी ठाकुर आज नेपाली राजनीतिमा उदाउँदै गरेको एक सशक्त नाम बनेकी छन्। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट उठेर सांसद र उपसभामुखजस्तो उच्च पदसम्म पुग्ने उनको यात्रा साँच्चै प्रेरणादायी छ।

उनका बुबा शोगारथ ठाकुर विगत २० वर्षदेखि वैदेशिक रोजगारीमा संलग्न छन्। साउदी अरबमा काम गर्दै उनले परिवारको जीविकोपार्जन गर्दै आएका छन्। सीमित साधन–स्रोतका बीच परिवार चलाउँदै आएका शोगारथको मुख्य उद्देश्य सन्तानलाई राम्रो भविष्य दिनु थियो। चार धुरको सानो घर र दुई कठ्ठा जमिनबाहेक उनीहरूसँग अन्य उल्लेखनीय सम्पत्ति छैन।

रुबीकुमारीले श्री माध्यमिक सोहनी मुजेलिया सामान्य विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि सिभिल इन्जिनियरिङ अध्ययन गरिन्। पढाइ सकेपछि उनले कन्सल्टेन्सी क्षेत्रमा काम गर्दै आफ्नो करियर अगाडि बढाइरहेकी थिइन्। केही समयअघिसम्म राजनीतिसँग उनको कुनै सम्बन्ध थिएन। तर निर्वाचनको समयमा श्रम संस्कृति पार्टीमा आवद्ध भएपछि उनको जीवनले नयाँ मोड लियो।

पार्टीले दिएको अवसरका कारण समानुपातिक प्रणालीमार्फत उनी सांसद बनिन्। यो उपलब्धि केवल उनको मात्र होइन, उनको परिवार र समुदायको लागि पनि गर्वको विषय बन्यो। सांसद बनेपछि उपसभामुख पदका लागि मनोनयन दर्ता गर्नु र समर्थन प्राप्त गर्नु उनको राजनीतिक उचाइको संकेत हो।

रुबीकुमारीको राजनीतिमा प्रवेश आकस्मिक भए पनि उनका लक्ष्य स्पष्ट छन्। उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको समस्या समाधान गर्ने र मधेश क्षेत्रमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथाविरुद्ध , युवाहरु बेरोजगारी तथा किसानहरुको समस्या आवाज उठाउने अठोट लिएकी छन्। संसदमा उनले यी विषयमा सक्रिय रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै आएकी छन्।

छोरीको उपलब्धिमा बुबा शोगारथ अत्यन्त भावुक र गर्वित छन्। विदेशमा पसिना बगाएर परिवार पाल्ने एक बुबाको सपना छोरीले साकार पारेकी छन्। यद्यपि, परिवारको भविष्य अझ सुदृढ बनाउन शोगारथ पुनः वैदेशिक रोजगारीमा फर्किने तयारीमा छन्।

रुबीकुमारी ठाकुरको जीवन कथा संघर्ष, अवसर र दृढ इच्छाशक्तिको उदाहरण हो। साधारण परिवारबाट उठेर राष्ट्रको नेतृत्व तहसम्म पुग्न सकिन्छ भन्ने सन्देश उनले सम्पूर्ण युवापुस्तालाई दिएकी छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !