
जनकपुरधाम, २९ बैशाख । जनता समाजवादी पार्टी नेपाल धनुषाको सम्पन्न प्रथम जिल्ला अधिवेशनले कार्यसमितिमा शत्रुधन यादवको प्यानलले बहुमत हात पारेको छ ।
उनी झिनो मतले पराजित भएपनि उनको प्यानलले सदस्य पदमा झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको एक नेताले जनाए ।
आइतबार भएको निर्वाचनको मतपरिणामअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका शत्रुधन यादवले एक सय ६४ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वि निवर्तमान जिल्ला अध्यक्ष पशुपति यादव एक सय ६८ मत ल्याई विजयी भए ।
प्राप्त जानकारी अनुसार जिल्ला कार्यसमितिका अध्यक्ष पशुपति यादवले पदाधिकारीमा अध्यक्ष सहित उपाध्यक्ष एकजना, सचिव र सहसचिव एकजना गरी ४ जना विजयी भएका छन् ।
पशुपतिको प्यानलबाट उपाध्यक्ष दिनेश प्रसाद यादव, सचिव रामनारायण कापडी, सहसचिव रामबिहारी यादव निर्वाचित भएका छन् ।
त्यस्तै शत्रुधन यादवका प्यानलले पनि एक उपाध्यक्ष, एक सहसचिव र कोषाध्यक्ष गरी ३ जना विजयी भएका छन् ।
५७ सदस्यीय जिल्ला कार्यसमितिमा पदाधिकारीमा उपाध्यक्षमा ललित मण्डल, सहसचिवमा शशिचन्द्र यादव र कोषाध्यक्षमा निवर्तमान कोषाध्यक्ष सुजिता यादव विजयी भए ।
पदाधिकारी ७ मध्ये ४ पशुपति प्यानलले हात पारेपनि सदस्यहरुमा बहुमत सदस्यहरु शत्रुधन प्यानलबाट निर्वाचित भए ।
खुल्ला सदस्य २५ जना चाहिएकोमा २३ जना शत्रुधन यादवको प्यानलबाट विजयी भएको जनाइएको छ ।
सदस्यहरु राजेन्द्र प्रसाद यादव, ज्ञानेन्द्र यादव, राधेश्याम यादव, रामकिसोर यादव, विजयकुमार यादव, विनोद कुमार यादव, राजदेव महरान यादव, सुरेन्द्र कुमार मंडल, ब्रह्मदेव यादव, कुशेश्वर सहलैता यादव, उपेन्द्र चोरवार यादव, अजय कुमार यादव, उदयचन्द्र झा, विश्वनाथ यादव, सरोज कुमार मंडल, रामसुखित यादव, कुमोद यादव, संजय कुमार यादव, शिवशरण यादव, प्रेमचन्द्र यादव, रामनन्दन महतो, महेश मंडल र योगेन्द्र पंडित रहेका छन् ।
पशुपति प्यानलबाट सोनेलाल यादव र विनोद कुमार साह निर्वाचित भएका छन् ।
त्यस्तै जनजाति सदस्यमा २ मध्ये एक, मुस्लिम सदस्य पुरुषतर्फ ३ मध्ये दुई र मुस्लिम महिलातर्फ दुई जना सदस्यहरु शत्रुधनकै प्यानलबाट विजयी भएका छन् ।
जनजाति सदस्यमा सुनिल मण्डल, मुस्लिम सदस्य पुरुषतर्फ रहमत राईन र मो. नईम शेख विजयी भए । त्यस्तै मुस्लिम महिलातर्फ सहिदा खातुन र समिमा खातुन विजयी भए ।
मुस्लिम सदस्य पुरुषमा आमिन राईन पशुपति यादवको प्यानलबाट विजयी भए ।
जसपा राजनीति धनुषा
धनुषामा जसपा नेपाल दुई कित्तामा विभाजन भएको स्पष्ट छ । पार्टीका केन्द्रीय उपमहासचिव दिपक कार्की, प्रदेश सांसद रामअशिष यादवको एउटा कित्ता छ । जसको नेतृत्त्व पशुपतिले गरिहेका छन् ।
केन्द्रीय सदस्यहरु महाजन यादव, चमेली दास, अरुणसिंह मण्डल, जीतेन्द्र यादव, शैलेन्द्र यादव, सीता यादव, राजेन्द्र यादव लगायतको अर्को कित्ता छ । जसको नेतृत्त्व शत्रुधन यादवले गरिरहेका छन् ।
जनाधारको हिसाबमा ग्रासरुटसम्म शत्रुधनको पक्ष बलियो छ भने रणनीतिक रुपमा पशुपति ।
शत्रुधनको प्यानललाई मधेस प्रदेशका पूर्व कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले साथ दिए भने पशुपतिको प्यानललाई प्रदेश सदस्य चन्देश्वर महतोले सघाए ।
पशुपतिलाई नगरका नेताहरु दिनेश यादव, दिपिन देव यादव, रामचलित्तर यादव र विनोद भर्खेर यादवले साथ दिएका छन् ।
त्यस्तै शत्रुधनलाई नगरका नेताहरु धर्मनाथ यादव, जयकुमार यादव, बाली शर्मा, गणेश यादव लगायतले साथ दिएका छन् ।