
राजविराज,२४ चैत । नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको ९६ औं जन्मजयन्ति एवं रामनवमीको अवसर पारेर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि नवलकिशोर साहले आइतबार शारीरिक रुपमा अशक्त भई कष्टकर बिताउन बाध्य २५ जनालाई ह्वील चियर बितरण गरेका छन् ।
जनता समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मन्त्री साहले स्व. सिंह आफ्नो राजनीतिक जिवनमा प्रेरणाको श्रोत रहेको भन्दै उनको जन्मजयन्ति सामाजिक कार्य गरेर मनाउन सुरु गरेको बताए । रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहयोगमा उपलब्ध अत्याधुनिक प्रविधीको ह्वील चियर मन्त्री साहले आफ्नो गृहनगर हनुमाननगर कंकालिनी नगरपालिकामा एक समारोहका बीच यसरी बितरण गरेका हुन् ।
लाखौं मुल्य बराबरको उक्त ह्वील चियर पाउनेमा ७ वर्षदेखी ७५ वर्ष उमेर समूह सम्मका २५ जना छन् । कार्यक्रममा मन्त्रि साहले आफू आफ्नो क्षेत्रका बासिन्दाको समस्या प्रति समेत संवेदनशिल रहेको भन्दै दातृ संस्थाबाट सहयोग जुटाएर भए पनि सानो मद्दत गर्न पाएकोमा निकै खुशी लागेको बताए ।
नगरपालिका भित्र शारीरिक रुपमा पूर्ण रुपमा अशक्त भएकाहरुको पहिचान गरि पहिलो चरणमा मन्त्रि साहमार्फत २५ थान ह्वील चियर बितरण गरिएको रोटरी क्लब अफ बर्दीवासका अध्यक्ष बिष्णुराज पुरीले बताए । उक्त क्लबका प्रस्तावक अध्यक्ष सिताराम ढुंगेलले अशक्तको जिवन सहज होस् भन्ने उद्देश्यले ह्वील चियर बितरण कार्यक्रम आयोजना गरिएको बताए ।
उक्त अवसरमा रोटरी क्लब अफ बर्दीवासका नोमिनी अध्यक्ष दिपककुमार कार्की, राष्ट्रिय अपाङ कोषका सदस्य चितरंजन यादव, हनुमाननगर कंकालिनी नगरपालिका उपमेयर सरिता सिपलिया यादव, पूर्वमेयर शैलेश साह, अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डल, दलित सरोकार मञ्चका अध्यक्ष भोला पासवान, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी लगायतको उपस्थिति रहेको थियो ।
शारीरिक रुपमा अशक्त भई कष्टकर जिवन बिताइरहेकाहरु निशुल्क रुपमै उच्च प्रविधियुक्त ह्वील चियर प्राप्त गरेपछी निकै हर्षित देखिन्थे ।