
जनकपुरधाम, २५ भाद्र । जेल जीवन बिताइरहेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’ जेन–जी पुस्ताको आग्रहमा नख्खु कारागारबाट जनकपुर आइपुगेका छन् ।
जेन–जी आन्दोलनले गर्दा कारागारको सुरक्षा व्यवस्था नाजुक भएपछि उनी कारागारमा एक्लै बस्नुपर्ने स्थिति आएपछि बाहिरिएका हुन् ।
समाजसेवामा समर्पित उनी जनकपुरक्षेत्रबाट दुई पटक संविधानसभा सदस्य पदमा बहुमतले निर्वाचित भएका थिए ।
उनलाई यहाँका ठूला दलका नेताका पूर्वाग्रही र कुण्ठित सोचले जेल जिवन बिताउन बाध्य बनाएको साहको भनाइ छ ।
उनी जनकपुर आएपछि बुधबार उनका हजारौं हजार समर्थकहरु घरमै आएर भेटेको साह निकट जनता समाजवादी पार्टी नेपालका नेता नवीन यादवले बताए ।
साहलाई भेटेर जनकपुरबासी खुशी छन् । यादवले भने, ‘जेन–जी पुस्तालाई साहले म कारागार बस्छु भनेर बताए पनि युवापुस्ताको आग्रह नकार्न नसक्दा र कारागारमा एक्लै बस्दा हुन सक्ने सम्भाव्य घटनाबाट जोगिन उहाँ कारागारबाट बाहिरिनु भयो ।’
नेपाल सरकार, गृह मन्त्रालय र कारागार विभागले कैदीबन्दी फिर्ता हुनु पर्छ भने पत्रचार गर्ने बित्तिकै उहाँ सबभन्दा पहिले नै कारागार पुग्नु हुने नेता यादवले अंशखबरसँगको कुराकानीमा बताए ।
करिब १२ बर्ष जेल जिवन बिताएका सञ्जय साह जनकपुरधाम आइसकेपछि बुधबार जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम थियो ।
दुई दुई पटक निर्वाचित सांसद तथा पूर्वराज्यमन्त्री समेत रहिसकेको साहको जनकपुरधाममा व्यापक जनसमर्थक रहेकाले तत्कालै जेन–जी आन्दोलनको माहोल रहेकाले स्थिति सम्हाल्न नसक्ने र घुसपैठ हुन सक्ने संकेत धनुषाका एसपीले फोनमार्फत् जानकारी गराएपछि जानकी मन्दिर दर्शनको कार्यक्रम रोकिएको हो ।
साह २०६४ को संविधानसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालबाट निर्वाचत भएका थिए । सोही बेला उनी भौतिक पूर्वाधार राज्यमन्त्री समेत भएका थिए । त्यसबेला संसद भवनमा हंगामा मच्चाउने मधेसी नेता सञ्जय साह थिए ।
पछि, २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट निर्वाचित भए । त्यसलगतै उनी पक्राउ परे र जेल जिवन बिताउन बाध्य भए ।
राजनीति गर्ने सञ्चारकर्मीको प्रश्नमा उनले कुनै दल आवद्ध नभएको स्पष्ट पारे । कुन दल आवद्ध हुन्छु, त्यो अहिले भन्न सक्दिनँ । तर, जनताको पक्षमा काम गर्छु जनाए ।
जेन–जी को आन्दोलनको पक्षमा रहेको दावी गर्दै जनताले वास्तविक लोकतन्त्र प्रत्याभूत गरेको उनले तर्क गरे ।