उदयपुर, ३ चैत  । आइतबार साँझ आएको तीव्र हावाहुरीका कारण उदयपुरको कटारी क्षेत्रमा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाहुरीका कारण नजिकैको सुकेको सालको रुख ढल्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सोही घटनामा रुखले किचेर अन्य पाँच जना घाइते भएका छन्।

घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडाका २७ वर्षीय युवराज कार्की, कटारी–५ बलाहाका ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी नगरपालिका–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

घटनामा घाइते भएकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

त्यसैगरी कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाहुरीका कारण भाँचिएको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९स्१० बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहाका लीला बहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !