सुर्खेत ,२८ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू कर्णाली पुगेका छन् र जनतासँग माफी माग्दै आत्मालोचना गरेका छन् । राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभामा नेताहरूले मात्र माफी मागेनन्, आफ्ना विगतका कमजोरीको स्वीकार गर्दै समाजवादी सपना पनि प्रस्तुत गरेका छन्।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी विद्रोहपछि आफूहरू पूर्ण नयाँ भइसकेको दाबी गरे। उनले जेनजी आन्दोलनले पुराना नेताहरू र राजनीतिक दलहरूलाई चुनौती दिएको र त्यसलाई स्वीकार्दै नेकपा पहिलो पार्टीका रूपमा सच्चिने निर्णयमा पुगेको बताए। प्रचण्डले विगतमा माओवादी जनयुद्धमार्फत न्याय, समानता र समृद्धिको सपना बाँडेको स्मरण गर्दै, अब पार्टीको मार्गनिर्देशन ‘मार्क्सवाद–लेनिनवाद’मा आधारित रहेको उल्लेख गरे।

सहसंयोजक माधवकुमार नेपालले इमानदार नेताहरूको नेतृत्वमा पार्टी एकता भएको र भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य नगरी देश समृद्ध नहुने बताए। अर्का नेता वामदेव गौतमले विगतमा सरकारमा हुँदा गर्नुपर्ने काम नगरेको स्वीकार गर्दै, घरदैलोमा गई जनतासँग माफी माग्न सबै नेताहरूलाई आग्रह गरे।

सभामा प्रचण्डले पूर्वप्रधानमन्त्री कार्यकालका उपलब्धि र चुनौतीहरू पनि स्मरण गर्दै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमाथि आलोचना गरेका थिए। उनले लोडसेडिङ अन्त्यमा आफूहरूको भूमिका उल्लेख गर्दै, घिसिङले यसमा आफ्नो मात्र नाम लिन खोजेको आरोप लगाए।

 

नेता नारायणकाजी श्रेष्ठले जेनजी विद्रोहका कारण एमाले–कांग्रेसको सुशासन अभाव भएको दाबी गरे। नेकपा नेता भीम रावलले पुरानै राष्ट्रवादी दृष्टिकोणको आलोचना गर्दै कर्णाली र सुदूरपश्चिमका विकास परियोजनामा ध्यान नदिएको टिप्पणी गरे।

नेता झलनाथ खनाल र वामदेव गौतमले बारम्बार नेपालमै आधारित समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिए। प्रकाश ज्वालाले आगामी निर्वाचनमा कर्णालीमा नेकपा पहिलो पार्टी बन्ने दाबी गर्दै, प्रदेशलाई पार्टीको लालकिल्ला बनाउने लक्ष्य उल्लेख गरे।

सभामा करिब पाँच घण्टा नेता तथा कार्यकर्ताले सम्बोधन गरे। यस सन्देश सभाले नेकपाको अबको मार्ग समाजवादतर्फ केन्द्रित भएको र विगतका कमजोरी सुधार्दै अघि बढ्ने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !