काठमाडौं, १५ चैत । नेकपा एमालेले आयोजना गर्ने प्रदर्शनलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले आज बिहान ८ बजेदेखि देशभरका प्रहरीलाई स्ट्याण्डबाई ड्युटीमा राखेको छ। सशस्त्र प्रहरी पनि विशेष गस्तीमा परिचालित हुनेछन्।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा एमालेले शनिबारदेखि प्रदर्शन जारी राखेको थियो। सरकारले जेन्जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि शनिबार बिहान भक्तपुरबाट ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो।

एमालेद्वारा पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने छ। सोही क्रममा निषेधित क्षेत्र, सरकारी भवन र महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा सुनिश्चित गर्न केन्द्रीय प्रहरीले गएराति सबै युनिटलाई आवश्यक निर्देशन दिइसकेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, सामान्य अवस्थामा सुरक्षा व्यवस्थापन प्रहरीको नियमित कार्य भए पनि परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित कमाण्डरको आदेश अनुसार आवश्यकतानुसार प्रहरी परिचालन हुनेछन्।

देशभरका प्रहरी कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा नदिन भनिएको छ भने सबै गण, गुल्म र तालिम केन्द्रका जनशक्तिलाई पनि परिचालित गरिनेछ। काठमाडौँमा निषेधित क्षेत्र र महत्त्वपूर्ण स्थानमा भिड नियन्त्रणका लागि थप टोली र आवश्यक बन्दोबस्ती तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !