जनकपुरधाम ३२ असार । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्यको तयारीबीच मधेश प्रदेशको सत्ता समीकरण पनि अन्योलमा परेको छ।
कोशी, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमाले सम्बन्धमा दरार देखिन थालेपछि मधेश प्रदेशमा पनि गठबन्धनको भविष्यबारे चासो बढेको हो। मधेशमा कांग्रेस नेतृत्वको सरकारमा एमाले अहिले पनि सहभागी छ ।
यहाँ एमालेबाट मोहम्मद समिर भौतिक पूर्वाधार विकास मन्त्री, शारदा थापा श्रम तथा यातायात मन्त्री, मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्री तथा लखन दास तत्मा युवा तथा खेलकुद मन्त्री छन्। गत जेठमा गठन भएको यो सरकार दुई महिनामै धरमर भएको छ ।
मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले भने सरकार परिवर्तन हुने कुनै आधार नरहेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले प्रदेश सरकारको गठबन्धनमा कुनै हेरफेर नहुने दाबी गरे ।
हामीलाई यस्तो कुनै जानकारी आएको छैन । प्रदेश सरकार परिवर्तन हुँदैन । केन्द्रको निर्णयबारे पनि आधिकारिक जानकारी छैन, प्रदेशको विषय केन्द्रले एकतर्फी तय गर्ने कुरा पनि होइन, उनले भने ।
कांग्रेस प्रदेश सांसद वीरेन्द्रकुमार सिंहले पनि गठबन्धन परिवर्तनको चर्चा आफूहरूले सञ्चारमाध्यमबाट मात्र सुनेको बताए।
दुवै पक्षका नेताबीच छलफल भइरहेको भन्ने सुनिएको छ। तर आधिकारिक जानकारी आएको छैन। त्यसैले अहिले केही भन्न सक्ने अवस्था छैन,उनले भने ।
यता नेकपा संसदीय दलका नेता युवराज भट्टराईले पनि गठबन्धन परिवर्तनबारे कुनै निर्देशन नआएको स्पष्ट पारे।
केहीबेरअघि मात्रै सत्ता गठबन्धनका दलहरूबीच छलफल भएको थियो । गठबन्धन परिवर्तन हुनेबारे कुनै जानकारी वा निर्देशन आएको छैन, उनले भने ।
हाल मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन् ।
हाल प्रदेशसभामा १०२ सदस्य कायम छन् । कांग्रेसका २२, एमालेका २४, जनमतका १२, नेकपा (एकीकृत समाजवादी) का १५, जसपा नेपाल र लोसपाका संयुक्त २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १-१ सांसद छन् ।
यसअघि प्रदेशसभामा १०७ सदस्य रहेकामा लोसपाका अभिराम शर्मा र जसपाका सरोजसिंह कुशवाहा निलम्बित छन्। जनमतका सतीशकुमार सिंह, नेकपा (एकीकृत समाजवादी) का भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।





