जनकपुरधाम, १४ असोज । आराध्य देवी दुर्गाको बेलतोडी विधिका संगै शक्तिपीठहरुमा माटोका बनाइएका दुर्गाका मूर्तिको आँखाको नानी थपिने विधि वैदिक मन्त्रोचरणसहित सम्पन्न भएको छ । यसका लागि षष्ठीका दिन जोडा बेललाई निमन्त्रण गरिएको थियो । सप्तमीका दिन सोमबार सोही जोडा बेललाई विधिपूर्वक तोडेर शक्तिपीठमा ल्याइ बेलको डाँठबाट आँखाको नानी थपिने विधि गरिएको छ ।

बेल निमन्त्रणाका लागि मुख्य शक्तिपीठ जनकपुरधामस्थित राजदेवी भगवतीका लागि जिल्ला समन्वय समितिस्थित प्रांगणमा रहेको बेलको रुखमा रहेको जोडा बेललाई निमन्त्रण गरी सोमबार टिपेर ल्याएर विधिपूर्वक पूजा सम्पन्न गरिएको छ । यस वर्ष पनि अन्य वर्ष झैँ तिथिमिति हेरफेरको कारण विजया दशमीको विभिन्न साइत जुरेको छ । जसले गर्दा सोमबार केही शक्तिपीठमा एकैपटकमा बेलतोडी र खोइँछ भराइँ कार्य भएको छ भने जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँच भराइँ सोमबारदेखि मंगलबारसम्म चल्ने छ भने बोकाबली प्रदान मंगलबार साँझदेखि हुने भएको छ ।

जनकपुरधामस्थित मुरली चोक, वशिष्ट चोक, रामानन्द चोकसहितका स्थानमा बनाइएका शक्तिपीठहरुमा मंगलबार विहानदेखि खोइँछ भराइँको कार्यक्रम हुने भएको छ । महाअष्टमी तिथिमा बेलुको बोकाबली गर्ने निणर्य गरिए अनुसार बली प्रदानको कार्यक्रम रहेको महावीर युवा कमिटीले जनाएको छ । कमिटीका अध्यक्ष दीपक साह मिन्टुले मंगलबार विहानदेखि प्रसाद चढाउने र साँझ ७ बजेदेखि बोकाबली प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए ।

महावीर युवा कमिटीले सोमबार साँझसम्ममा बोका बलीका प्रदानका लागि ७ हजारभन्दा बढीले रसिद काटिसकेको जनाएको छ । यसपटक विगतभन्दा बढी भक्तजनले बली प्रदानका लागि रसिद कटाउने भएकाले अलग अलग स्थानमा विभिन्न युवा कमिटी तथा जिम्मेवार पदाधिकारीले रसिद काट्ने गरेकोले यकिन तथ्यांक भन्नमा समस्या रहेको अध्यक्ष साहको भनाइ छ ।

त्यस्तै तराई–मधेशका मन्दिरहरूमा पनि पूजा–आराधना भइरहेको छ भने गाउँ–ठाउँमा बनाइएका माता दुर्गाको मूर्ति बनाई भव्य पूजापाठ गर्ने परम्परा झन् आकर्षक बनेको छ । हिन्दू धर्ममा मूर्ति पूजाको अलग्गै महत्व छ, तर तराई मधेशमा विशेष महत्वका साथ पूजा अर्चना गरिँदै आएको छ । खासगरी मैथिल समुदायले देवी–देवतासँग घरको देवताको रुपमा दुर्गा माताको पूजा आराधना गर्ने परम्परा रही आएको छ ।

पूजाको अवधिभर देवीलाई माइती आएकी छोरीझैँ मीठा परिकार अर्पण गरिन्छ । मूर्ति विसर्जनको बेला भने सोहर (छोरी बिदा गर्ने बेला गाइने गीत) गाएर भावुक विदाइ गरिन्छ । संस्कृतिविद्हरू भक्तिका नौ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावनात्मक मार्गको संज्ञा दिने गर्छन् । जानकी मन्दिरका प्रथम महन्त सुरकिशोर दासले माता सीतालाई छोरीझैँ माया गरेर सेवा गरेका थिए । उनका उत्तराधिकारी महन्तहरूले पनि सो परम्परालाई निरन्तरता दिएका छन् ।

संस्कृतिविद् डा. राजेन्द्रप्रसाद विमलले देवी–देवतासँग पारिवारिक सम्बन्ध स्थापित गरेर परिवारका प्रिय सदस्यझैँ व्यवहार गर्ने परम्परालाई नै वात्सल्य मार्गको रुपमा चित्रण गरे । उनले सीता मिथिलाकी चेली भएकी र नवदुर्गासहित अन्य देवीहरू पनि सीताकै स्वरूप भएकाले तराई– मधेशमा देवीलाई चेली–बेटीको रूपमा माया गर्ने परम्परा अझै जीवित रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मैथिली विभागका पूर्वप्रमुख सहप्राध्यापक परमेश्वर कापडिका अनुसार मिथिलामा देवी मात्र होइन राम, कृष्ण, महादेवलगायतका देवतालाई पनि घरकै सदस्यझैँ माया गर्ने चलन छ । तराई–मधेशमा विजया दशमीको आकर्षण धार्मिक मात्र नभइ सामाजिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।

मूर्ति पूजाले गाउँ–समाजलाई एकताबद्ध गर्ने ठूलो भूमिका खेलेको पाइन्छ । मूर्ति निर्माणदेखि विसर्जनसम्मकै क्रममा श्रमदान, आर्थिक सहयोग र सामूहिक सहभागिताले समाजलाई बलियो बनाउँछ । सजावटमा युवती–बालबालिकादेखि वृद्धसम्म सबैको योगदान हुने भएकाले यो धार्मिक मात्र नभई सांस्कृतिक उत्सवका रुप पनि ग्रहण गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !