जनकपुरधम १७ असोज । महोत्तरीको पिपरा डेकहा बजारमा दुई समूहको विवाद हुँदा पसल र सवारी साधनमा आगजनी गरिएको छ । पिपरा गाउँपालिका–१ डेकहा बजारका ८ पसलमा आगजनी भएको हो ।

बजार नजिकै लागेको मेलामा बिहीबार साँझ दुई समूहबीच विवाद भएको र विवादमा संलग्न समूहले नै ढेकहा बजारको पसलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । आगजनीबाट पसलमा रहेको सामानहरु जलेर नष्ट भएको प्रहरी उपरीक्षक शर्माले बताए ।

रुपेश साहको किराना पसलसहित ईशा कवारी, मोहम्मद उम्मेर, मंसुर कवारी, अबु कवारी, लतिभ कवारी, मजलिस कवारी र रामवृक्ष यादव गरी आठ व्यापारीको पसलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगजनी भएका पाँचवटा पसल पूर्ण रूपमा जलेर खरानी भएका छन् । बाँकी तीनवटा पसलमा तोडफोड र लुटपाट गरिएको स्थानीयले जनाएका छन् । आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनापछि पीडित व्यापारीहरूले तत्काल राहत, क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !