जनकपुरधाम, ३२ असार । जनकपुरधामस्थित ऐतिहासिक तथा पवित्र जानकी मन्दिर वरपर सञ्चालित फुटपाथ पसलहरूबाट मन्दिरका महन्त रामतपेश्वर दास र रोशन दासले अवैध रूपमा रकम असुली गरिरहेको सनसनीपूर्ण खुलासा भएको छ।

मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले यस कार्यमा उनीहरूकाे संलग्नता रहेकाे स्वयं रोशन दासले स्वीकार गरिसकेकाे जनाएका छन् ।

​गृहमन्त्री महतोका अनुसार, फुटपाथ पसल सञ्चालन गर्ने बहानामा महन्त रामतपेश्वर दास र रोशन दासले मासिक १५ हजार रुपैयाँ तलब दिएर ३ जना कर्मचारी (स्टाफ) खटाएका छन्। ती कर्मचारीहरू मार्फत दैनिक प्रतिपसल १०० देखि ५०० रुपैयाँसम्म असुल गरी सो रकम सिधै महन्त र रोशन दासको गोजीमा जाने गरेको मन्त्री महतोले स्पष्ट पारे ।

​पसल सञ्चालकहरू मारमा, मन्त्रीको कदमको चौतर्फी प्रशंसा

​धार्मिक र पर्यटकीय हिसाबले संवेदनशील मानिने जानकी मन्दिर क्षेत्रमा यसरी दादागिरी र प्रशासनिक मिलेमतोको शैलीमा अवैध रकम उठाइँदा साना व्यवसायी र फुटपाथ पसल सञ्चालकहरू लामो समयदेखि मारमा पर्दै आएका थिए।

​यस अवैध धन्दाको पर्दाफास गर्दै एक्सनमा उत्रिएका गृहमन्त्री फकिरा महतोको कदमलाई स्थानीय बासिन्दा र नागरिक समाजले उच्च सराहना गरेका छन्।

​”मन्दिर जस्तो पवित्र ठाउँलाई कमाइ खाने भाँडो बनाउने र गरिब फुटपाथ व्यवसायीलाई मर्नु न बाँच्नु पार्नेहरूलाई कानुनी दायरामा ल्याउनै पर्छ। गृहमन्त्रीले चालेको यो कदम निकै सराहनीय रहेकाे रामहृदय यादवले बताए।”

​अवैध असुली रोक्न थप कडाइ गरिने

​धार्मिक आस्थाको केन्द्रलाई बदनाम गराउने र कानुन विपरीत पैसा असुल्ने यस्ता गतिविधिमा संलग्न जोसुकै भए पनि उन्मुक्ति नपाउने मन्त्रालय स्रोतले जनाएको छ।

मन्दिर आसपासको क्षेत्रलाई व्यवस्थित बनाउन र अवैध असुली पूर्ण रूपमा बन्द गर्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई समेत सचेत गराइसकेको छ।

​यस घटनाले जानकी मन्दिर व्यवस्थापन र गुठी संस्थाभित्र भइरहेका आर्थिक अनियमिततामाथि थप छानबिन हुनुपर्ने मागलाई बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !