सिरहा,१४ भदौ । जनता समाजवादी पार्टी, नेपालले भूमिसम्बन्धी विधेयकको विरोधमा मिर्चैयामा शनिबार प्रदर्शन गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट भेला भएका नेता र कार्यकर्ताहरूले मिर्चैयास्थित राजमार्ग हुँदै ¥याली प्रदर्शन गर्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रदर्शनकारीहरुले हालको भूमि विधेयक भूमिहीन, सुकुम्बासी र साधारण किसानको हितमा नभई दलाल तथा भूमाफियाहरूको फाइदा हुने गरी ल्याइएको आरोप लगाएका छन ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले विधेयक खारेज नभए मधेशले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन । मधेशको जमिन दलाल र पुँजीपतिहरूलाई सुम्पिने र मधेशीलाई कमजोर बनाउने षड्यन्त्र सफल हुन नदिने चेतावनी दिदै मण्डलले खसवादी राज्यसत्तासँग मधेश सधैं लडेको र यस विधेयकको विरोध पनि कडा प्रतिवाद गर्ने बताए ।





