रुपन्देही १७ फालगुन । कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार भएका वीरेन्द्र कनोडियाले विपक्षीहरुले तीन वर्षअघि रकम तिरेका उखु किसानको रकम नतिरेको सार्वजनिक आरोपको खण्डन गर्दै कुनै प्रमाण भए तेब्बर रकम तिर्न तयार रहेको बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका अभिषेकप्रताप शाह र उनको पार्टीले सार्वजनिक कार्यक्रमबाटै उखु किसानको रकम नतिरेको भनेर आफूलाई गम्भीर आरोप लगाएको र सामाजिक सन्जालमा अनावश्यक भ्रम फैलाएको बताए । कनोडियाले संस्कारसहितको राजनीति गर्न आग्रह गरेका छन् ।
‘निर्वाचनमा दलहरुले आफ्नो एजेण्डा लैजाने हो, कम्तीमा कसैलाई निराधार आरोप लगाएपछि त्यसको प्रमाण पनि त जुटाउनुपर्ला नि, मैले ३ वर्षअघि सार्वजनिक सूचना निकालेर सबै किसानको रकम तिरेको सबैलाई प्रष्ट जानकारी छ, तर कांग्रेसका उम्मेदवार शाह र त्यो पार्टीका केही नेताहरुले सार्वजनिक रुपमा हुँदै नभएको विषयलाई भ्रम फैलाउनु राम्रो होइन,’ उनले भनेका छन्, ‘चुनावपछि पनि त यही समाजमा बस्नुपर्छ, ती आरोप प्रमाणित नभए के हुन्छ ? म चुनौती दिन चाहन्छु, कसैको रकम बाँकी भए तेब्बर तरिकाले दिनेछु, तर प्रमाण नभएको विषय बोल्नेले प्रमाण जुटाओस्, म निर्वाचन आयोग र प्रशासनलाई यस्ता विषयमा सचेत गराउन आग्रह गर्दछु ।’
कनोडियाले प्रतिस्पर्धामा रहेका व्यक्तिसँग कुनै योजना र जित्ने आधार नभएपछि यस्ता निराधार विषयको पछि लागेको बताएका छन् । नेपाली कांग्रेसबाट अहिलेको निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस भएका कनोडिया अन्तिममा एमाले प्रवेश गरेर उम्मेदवार भएका छन् भने कांग्रेसबाट यसअघि एमालेसँग पराजित अभिषेकप्रताप शाह उम्मेदवार छन् । कांग्रेस छाडेर एमालेमा गएका कारण धेरै कांग्रेसहरुले आफूलाई प्रमाणविहीन आरोप लगाइरहेको उनको भनाइ छ ।
यो क्षेत्रबाट राप्रपाबाट यसअघि पराजित भएका प्रकाश रजौरिया मनोनयनको केही समयअघि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका छन् । उनी त्यसअघि एमालेमा टिकटको लबिङमा रहे पनि उनलाई उछिनेर कनोडियाले टप्काएपछि उनी रास्वपामा लागेका हुन् । यो क्षेत्रमा नेकपा र मधेशवादी दलका मत निर्णायक छन् । एमालेले तीन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नं ३ र १ सुरक्षित र २ मा बलियो प्रतिस्पर्धी भएको दाबी गरेको छ ।





