काठमाडौं, १७ फालगुन । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो। पारिवारिक स्रोतका अनुसार बिहान ६ बजेदेखि नै प्रहरी टोली घर वरिपरि तैनाथ थियो। करिब पौने ८ बजे पक्राउ पुर्जी थमाएर प्रसाईंलाई लगिएको बताइएको छ।
पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ पक्राउ गरिएको उल्लेख छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ।
यसअघि पनि प्रसाईं ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए। उनी १३ फागुनमा रिहा भएका थिए। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।





