जनकपुरधाम २० भद्र । मधेश प्रदेशमा औद्योगिक वातावरणको निर्माण गर्नका लागि जनकपुरधाममा अगामी कार्तिक २७ गते देखि ३० गतेसम्म पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक मेला २०२५ को आयोजना हुने भएको छ ।
उद्योग परिसंघ मधेश प्रदेश, सिया ईभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा हुने सो औद्योगिक मेला मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरहुतिया गाछीमा हुने आयोजक संस्थाका अध्यक्ष प्रमोद साहले आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
औद्योगिक मेलामा १ सय ४० वटा स्टलहरू रहने भएको छ । मेलामा खास गरेर भारत तथा बङ्गलादेशमा उत्पादन भएको अटो मोबाइल, कृषि तथा अन्य प्रकारका औद्योगिक उत्पादनहरू प्रदर्शनीमा रहने आयोजकले जनाएको छ ।
मेलाले उद्योग, कृषि र अटो मोबाइल क्षेत्रलाई एउटै मञ्चमा ल्याएर नेटवर्किङ, सहकार्य र भविष्य निर्माण गर्ने नवीनतम प्रविधिको प्रदर्शन गर्ने परिसंघका अध्यक्ष साहले बताउनुभयो । मेलामा अत्याधुनिक मेसिनहरूको प्रदर्शनी, प्रविधिको प्रदर्शनी, स्वचालन, कृत्रिम बुद्धिमत्ता र स्मार्ट खेती उपकरणहरू समावेश हुनेछन् ।





