जनकपुरधाम, ३१ भाद्र । धनुषाका युवा इन्जिनियर महेश यादवले जेन–जीका आन्दोलनले ठूला दलले राजनीतिमा लगाएको सेन्टिगेड तोडिएको बताएका छन् ।
इन्जिनियर यादवले मंगलबार अंशखबर अनलाइनसँग कुरा गर्दै राजनीतिक दलले लगाएको सेन्टिगेड तोडिनुले देश नयाँ गतिमा फर्किएको बताए ।
देशमा रहेका लाखौं युवाहरु नैतिकवान् रहेपनि सत्तासीन दलहरुले उनीहरुलाई अवसरबाट बञ्चित गरेको आरोप इन्जिनियर यादवले लगाए ।
विगतमा भएका आन्दोलनले मुठ्ठिभर मान्छेलाई मात्रै लाभ भएको बताउँदै इन्जिनियर यादवले जेन–जीको आन्दोलनले समग्रमा देशलाई फाइदा भएको जिकिर गरे ।
जेन–जी पुस्ताहरुले राजनीतिको दम्भमा देशलाई बन्धक बनाइराखेका कुनै पनि शक्तिसँग नडराउने, भयभित नहुने र शक्तिशाली भनाउँदा दलहरुलाई प्रतिकार गर्न सक्षम रहेको उनले जनाए ।
जेन–जीको आन्दोलनबाट नेपाली जनतामा भ्रस्टाचार अन्त्य हुने अनुभूति भइरहेको उल्लेख गर्दै उनले थपे, ‘आउने दिनमा देशका नैतिकवान् युवा र युवतीहरु नेतृत्वमा आउने अवसर आउने स्थिति जेन–जीको आन्दोलनले सिर्जना गरिसकेको भन्दै समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेमी, न्यायप्रेमी, नागरिक समाजका अगुवा लगायत युवाहरुलाई नेतृत्व लिन आह्वान गरे ।’





