जनकपुरधाम, ८ असोज । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दलित र महिलाका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्र छुट्याउनु पर्ने माग गरेको छ ।

असोज ५ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि दलित र महिलाका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्नुपर्ने माग सरकारसँग गरेको छ ।

सो बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेका छन् । जसमध्ये आजसम्म कुनै पार्टीको ध्यान पुग्न नसकेका निर्णय जसपा नेपालको गरेको छ ।


पार्टीका केन्द्रीय सदस्य एवं डोटिम परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासमानले भने, ‘संघीयता, सुशासन र समावेशीताका पक्षमा सधैं वकालत गरिरहेका जसपा नेपालले सरकारसँग गरेको सो माग लोकतन्त्रको सबल पक्ष हो । पार्टीका दलित र महिला कार्यकर्ता पनि हर्षित छन् ।’


सो बैठकले विश्वव्यापी लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप समान जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्न निर्वाचन क्षेत्रको पुनः निर्धारण गर्नु पर्ने माग पनि अघि सारेको छ ।

अहिलेको संविधानले जेनजीले उठाएको माग र मुद्दाहरु सम्बोधन गर्ने अवस्था छैन । त्यसैले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, संवैधानिक अंगहरु, प्रादेशिक संरचना, पहिचान, समावेशीता र सामाजिक न्यायसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गर्न संविधान संशोधन वा पुनर्लेखन नगरी हुँदैन, जसपा नेपाल कार्यकारिणी समिति गरेको निर्णयमा उल्लेख छ ।

जेनजीको मागसँग सहमती जनाउँदै ‘संविधान संशोधन वा पुनर्लेखनका लागि प्रतिनिधिसभा (संसद) लाई तत्काल कायमै राख्नुपर्ने र संसद् विघटन संविधान अनुकूल नभएको निष्कर्ष निकालेको छ ।


केन्द्रीय सदस्य पासमानले भने, ‘संविधान संशोधन गर्नुपर्ने, प्रादेशिक संरचना, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, समानुपाति समावेशी प्रतिनिधित्व जसपा नेपालको मुख्य माग हो । हामीले सधैं आवाज उठाइरहेका छौं, तर पनि देशका अन्धा र बहिरा सरकारले हाम्रा माग सम्बोधन गर्न सकेका थिएनन्, कम्तीमा अब पनि त गरोस् ।’


यथास्थितिमा गरिने निर्वाचनले मुलुकमा परिवर्तनकारी शक्तिहरुले उठाउँदै आएका माग र मुद्दाहरु समाधान नहुने तर्क गर्दै केन्द्रीय सदस्य पासमानले भने, ‘नयाँ प्रतिनिधिसभाले स्थान ओगटेपछि मुलुक फेरिपनि यथास्थितिमै फर्कने छ ।’

जेनजीले उठाएका माग र मुद्दाहरु सम्बोधन गराउन जसपा नेपाल प्रयासरत रहेको दावी पासमानको छ । निर्धारित समय (फागुन २१) मै निर्वाचन सम्पन्न गराउन जसपा नेपाल सकारात्मक रहेको बताउँदै केन्द्रीय सदस्य पासमानले अब आउने प्रतिनिधिसभा (संसद) ले प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !