जनकपुरधाम, ८ असोज । जनता समाजवादी पार्टी नेपाल महोत्तरी क्षेत्र नम्बर ४ अन्तर्गतको सम्सी बजारमा वडादशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम क्षेत्रीय अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख वक्ताको रूपमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री डा. सुरेन्द्र कुमार यादवले देशको वर्तमान राजनीतिक परिस्थिति, मधेशको अधिकार र समावेशी राजनीतिको आवश्यकता बारे विस्तृत मन्तव्य राख्दै ज.स.पा. नेपाललाई जनताको हितमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, केन्द्रीय सदस्य दीपक झा ‘गुड्डु’, इशरागन यादव, युवा खेलकुद विभाग सदस्य रोसन सिंह, जिल्ला अध्यक्ष रामनरेश रायलगायत वक्ताहरूले बडादशैंले ल्याउने एकता, सद्भाव र सामाजिक सद्भावनालाई जोड दिंदै पार्टी संगठनलाई बलियो बनाउन सबैलाई आह्वान गरे । कार्यक्रममा पालिका अध्यक्षहरू, जिल्ला र क्षेत्रीय सदस्यहरू, पालिका समिति र वडा समिति पदाधिकारीहरूको पनि उल्लेखनीय उपस्थिति थियो ।
सोही अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लो.स.पा.) परित्याग गरेर २० जनाभन्दा बढी कार्यकर्ताहरूले औपचारिक रूपमा ज.स.पा. नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमध्ये मनरा सिस्वा–१ का पूर्ववडा अध्यक्ष सुभाष चौधरी प्रमुख रहेका छन् । उनीहरूले पार्टी प्रवेश गर्दै ज.स.पा. नेपाल नै मधेशको हकहितको पक्षमा ठोस रूपमा काम गर्ने संगठन भएको विश्वास व्यक्त गरे ।
कार्यक्रमले दशैं पर्वलाई मात्र होइन, पार्टी सुदृढीकरणलाई पनि नयाँ उचाइमा पुर्याएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।





