
काठमाडौं, २६ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्रको विवाद चुलिँदै जाँदा उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवसहित २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले नयाँ दल ‘जनस्वराज पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निर्वाचन आयोग स्रोतका अनुसार ५२ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशत सदस्यहरूको हस्ताक्षरसहित आइतबार निवेदन पेश गरिएको हो ।
हाल आयोगले निवेदनको सनाखतको प्रक्रिया अगाडि बढाउँदैछ । नयाँ पार्टीको नाम र चुनाव चिन्हबारे चाँडै पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताइएको छ ।
यता, जनमत पार्टीका एक नेताले साह र यादवलाई पार्टीले कारबाही गरिसकेको दाबी गरेका छन्, तर आयोगले कारबाहीको जानकारी पाइसकेको छैन ।
प्रचलित नियमअनुसार दल फुटाउन केन्द्रीय समिति वा संसदीय दलका कम्तीमा २०% सदस्यको समर्थन आवश्यक पर्छ । आयोगले निवेदन उपयुक्त ठानेमा ४५ दिनभित्र नयाँ दलको रूपमा दर्ता गर्न सक्छ ।