जनकपुरधाम, १५ कात्तिक  । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र हरिबोधिनी एकादशी मनाइदै छ । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी यो पर्व श्रद्धा र भक्तिसाथ देशभर मनाइँदै छ।

हरिबोधिनी एकादशीलाई प्रबोधिनी एकादशी पनि भनिन्छ। चार महिनाअघि आसार शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजका दिन जाग्रत हुने धार्मिक विश्वास छ। यस दिन तुलसी र भगवान् दामोदर (विष्णु) को विवाह गर्ने परम्परा रहिआएको छ।

धर्मग्रन्थअनुसार हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनालाई चातुर्मास भनिन्छ। यस अवधिमा विवाह, ब्रतबन्ध, यज्ञजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ।

आज घरघरमा रोपिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमाला र दीपले सजाइन्छ। तुलसी मठ नजिकै निगालाको लिङ्ग (विष्णुको प्रतीक) गाडेर विधिपूर्वक पूजा गरिन्छ। तुलसीलाई विष्णुप्रिया मानिने भएकाले तुलसी–दामोदर विवाहको धार्मिक महत्त्व विशेष छ।

तुलसीको धार्मिक मात्र नभई वैज्ञानिक महत्त्व पनि रहेको बताइन्छ। तुलसीको सुगन्धले वातावरण पवित्र बनाउने, लामखुट्टे र विषालु जीव हटाउने, र स्वास्थ्यका दृष्टिले औषधीय गुण राख्ने मान्यता छ। तुलसीको रस र पातले रुघाखोकी, ज्वरो र औलोलगायत रोगमा लाभ पुर्‍याउने प्रमाण पनि छन्।

गरुड पुराणमा उल्लेख भएअनुसार, “एक तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान बराबरको पुण्य प्राप्त हुन्छ।” त्यसैले कात्तिक महिनाभर तुलसीको पूजा, माला धारण र तुलसीपत्र अर्पण अत्यन्त शुभ मानिन्छ।

आजका दिन अन्न ग्रहण नगरी सखरखन्ड, पिँडालु, वनतरुलजस्ता फलाहार गरी व्रत बस्ने चलन छ। यस व्रतले पाप नाश र मोक्ष प्राप्ति हुने विश्वास छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !