जनकपुरधाम, २७ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरोधमा रहेका सात दलीय गठबन्धनले प्रदेश सभा सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन ।
६४ जना प्रदेश सांसदको हस्ताक्षरसहित सचिवालय पुगेका गठबन्धनका सांसदहरूलाई एमाले कार्यकर्ताले अवरोध गर्न खोजे पनि उनीहरू अवरोध पार गर्दै उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा पुगेका थिए।
संविधान र प्रदेश सभा नियमावलीअनुसार, सभामुखविरुद्धको अविश्वास प्रस्तावमा उपसभामुखले तोक लगाउने व्यवस्था भएकाले प्रस्ताव उनीहरूकै समक्ष दर्ता गर्ने तयारी गरिएको थियो। उपसभामुख ईशरले सात दलले ल्याएको अविश्वास प्रस्तावमा तोक लगाइसकेकी छन्। तर, जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार, सभामुख मण्डलले सचिवालयका कर्मचारीलाई प्रस्ताव दर्ता रोक्न निर्देशन दिएका छन्।
सात दलीय गठबन्धनले सभामुख मण्डलमाथि एमाले पक्षधर भएर कार्य गरेको आरोप लगाउँदै उनलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ। उनीहरूले गत शनिबारको विश्वास मतको मतदानका बेला सभामुखले तटस्थ भूमिका नखेलेको आरोप लगाएका थिए।
पछिल्लो राजनीतिक संकट सभामुख मण्डल र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको समन्वयमा भएको भन्दै आन्दोलनरत पक्ष कडा रुपमा प्रस्तुत भएका छन ।
गठबन्धनका नेताहरूले अहिले पनि प्रदेशसभाभित्र अविश्वास प्रस्ताव दर्ताबारे अन्तिम छलफल गरिरहेका छन्।
संविधान अनुसार, सभामुखलाई पदबाट हटाउन दुई तिहाइ बहुमत आवश्यक छ। प्रस्ताव पारित भएमा मधेश प्रदेशको सत्ता समीकरण फेरि एकपटक परिवर्तन हुने निश्चित देखिएको छ।





