जनकपुरधाम, ३० कात्तिक । मधेश प्रदेशमा पछिल्लो केही दिन यता देखिएको किचलोका कारण आजित भएका जनकपुरधामका युवाहरुले प्रदेशमा राष्ट्रपति शासन लगाउन मांग गरेका छन ।
युवाहरुको एक समूहले आज प्रदेश प्रमुख डा. सुरेन्द्र लाल मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउदै राष्ट्रपति शासनको मांग गरेका हुन ।
मुलुकमा संघीयता हुनु पर्ने २००८ साल देखीको मधेशी जनताको मांग २०६३÷६४को विद्रोह पछि आएको र २०७४को निर्वाचन पछि संस्थागत हुँदै गएको अवस्थामा पछिल्लो समयमा देखिएको भ्रष्टाचार , वेथिति तथा राजनीतिक नाटकले मधेशी जनता आजित भएको भन्दै राष्ट्रपति शासन एक मात्र विकल्प रहेको उनिहरुले दावीप गरेका छन ।
तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामा पछि प्रदेशमा बढेको सत्ताको छिनाझपटीले समग्र संघीयताका साथै मधेशी जनता समेत बदनाम भई रहेको हुँदा प्रदेशसभालाई विघटन गरि नागरिक सरकार वा राष्ट्रपति शासन मार्फत नयाँ निर्वाचनमा जानु उपयुक्त हुने उनिहरुले सुझाव दिएका छन ।
मुख्यमन्त्री नियुक्तीको विषयमा सर्वोच्च अदालतमा आज छलफल जारी रहेको बेलामा युवाहरुले यस्तो सुझाव सहितको ज्ञापन पत्र बुझाएका हुन ।





