काठमाडौं, ३० कात्तिक  । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र विवादास्पद शपथसम्बन्धी रिटमाथि आइतबारका लागि तोकिएको सर्वोच्च अदालतको सुनुवाइ भोली सोमबारको लागि सारिएको छ । आज हुने भनिएको सुनुवाइ सोमवारसम्मका लागि सारिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

विपक्षीहरु मध्ये दुई जनाको म्याद नपुगेको भन्दै सुनवाई सारिएको हो । निवेदक पक्षले भोली नै सुनुवाई हुनु पर्ने मांग गरेपछि सारिएको स्रोतले जनाएको छ ।

मधेश प्रदेशको राजनीति पछिल्ला हप्तादेखि अत्यन्तै अस्थिर बनेको छ। प्रदेशमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन भएको छ। तर, मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहण प्रक्रियामै विवाद उत्पन्न भएपछि प्रदेश राजनीति थप तनावग्रस्त बन्दो देखिन्छ।

विवादको मूल कारण तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले असामान्य ढंगले—महोत्तरी–सिन्धुली सिमा क्षेत्र, बर्दिबास नगरपालिका–३ कालापानीस्थित पानस होटलमा पुगेर सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ दिलाएको घटना बनेको छ। संवैधानिक अभ्यास विपरीत भएको भन्दै उक्त कदमलाई विभिन्न दल तथा कानुनविद्हरूले आलोचना गरेका छन्।

यही घटनाविरुद्ध मधेश प्रदेशका ७४ जना प्रदेश सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। रिटमा मुख्यमन्त्री नियुक्ति र शपथ दुवै प्रक्रियालाई अवैध र असंवैधानिक घोषणा गर्न माग गरिएको छ।

अब हुने सुनुवाइलाई मधेश प्रदेशको राजनीतिक भविष्य र सरकारको वैधतामाथि निर्णायक असर पार्ने महत्वपूर्ण दिनका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !