जनकपुरधाम, २ मंसिर । महोत्तरी क्षेत्र नं. ४ मा मंगलबार आयोजित क्षेत्रीय बैठकले मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्थाबारे पूर्व राज्यमन्त्री तथा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादवले प्रदेश सरकारका विवादलाई भारतसँग जोड्ने प्रवृत्ति अनुचित र भ्रामक रहेको स्पष्ट पार्नुभएको छ ।
मुख्यमन्त्री सरोज यादवले बहुमत सुनिश्चित गर्न नसकिएको विषयमा भारतको ‘इन्टरफेरेन्स’ रहेको संकेत गरेको चर्चा चुलिँदै गएको अवस्थामा डा. यादवले ती आरोपहरू राजनीतिक जिम्मेवारीबाट उम्किन खोजिएको प्रयास मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा बहुमत जुटाउन नसक्नु आफ्नै राजनीतिक कमजोरी हो। त्यसको दोष भारतलाई दिनु कत्तिको उचित हो ? विदेशी हस्तक्षेपको नाममा दोष सारेर समस्या समाधान हुँदैन ।” उहाँका अनुसार संविधानले स्पष्ट रूपमा उपधारा २ अन्तर्गत सरकार गठनको बाटो खुलेको अवस्थामा जबर्जस्ती उपधारा ३ प्रयोग गरेर पदमा बस्ने प्रावधान नै असंवैधानिक र लोकतान्त्रिक मर्यादाविपरीत हो । “संवैधानिक प्रक्रिया छोडेर अर्को बाटो लिन खोजिएको कुरा सबैले देखेकै छन्, तर त्यसको जिम्मेवारी भारतमा पुर्याउनु भनेको वास्तविकताको सामना गर्न नसक्ने प्रवृत्ति मात्र हो,” डा. यादवले बताए ।

अर्थमन्त्री खनालको कदमको प्रशंसा
बैठकमा उहाँले अर्थमन्त्री रामेश्वर खनालको भूमिकाको खुलेर प्रशंसा गर्दै सुकुम्बासी आयोग, भूमि आयोग लगायतका आयोग खारेज गरेर त्यहाँबाट बचेको स्रोतलाई आगामी निर्वाचन व्यवस्थापनमा लगानी गर्न लागेको निर्णय सकारात्मक रहेको बताउनुभयो । उहाँका अनुसार अनावश्यक आयोगहरूले राज्यको खर्च बढाइरहेको अवस्थामा ती संरचना खारेज हुनु आर्थिक व्यवस्थापनतर्फको महत्वपूर्ण पहल हो ।

संगठन बलियो बनाउन नेताहरूको जोड
कार्यक्रममा केन्द्रीय सदस्य नागेन्द्र यादवले संगठन विस्तार नै जसपाको मूल लक्ष्य रहेको बताउँदै, प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रभावकारी उपस्थिति जनाएर मधेसका जनअधिकार सुनिश्चित गर्ने उद्देश्यमाथि जोड दिनुभयो । उहाँले कार्यकर्ता तहसम्म संगठनिक सक्रियता बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सदस्य दीपक झा (गुड्डु) ले संगठनका हरेक सदस्य अधिकारका सवालमा संवेदनशील र सक्रिय हुनुपर्ने बताउँदै, “अधिकार लडेर नै आउँछ, त्यसका लागि पार्टी भित्रैबाट एकता र प्रतिबद्धता आवश्यक छ,” भन्नुभयो । संघीयता प्राप्तिको संघर्ष अझै जारी
जिल्ला अध्यक्ष राम नरेश यादवले जसपा गठनकै मूल उद्देश्य विभेदका विरुद्ध संघर्ष हो भन्ने दोहोर्याउँदै संघीयता मधेसको वर्षौँको बलिदानको फल भए पनि अझै अधिकार प्राप्तिको यात्रा अपुरो रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक रूपमा संगठित र सचेत मधेसकै प्रयासले मात्र बाँकी अधिकार प्राप्ति सम्भव हुने धारणा राख्नुभयो । बैठकमा प्रमुख अतिथि डा. सुरेन्द्र यादव, विशिष्ट अतिथि नागेन्द्र प्रसाद यादव, जिल्ला उपाध्यक्ष रामेश्वर राय यादव, जिल्ला अध्यक्ष राम नरेश यादव, जिल्ला उप–सचिव खुसी पटेल सहित जिल्ला सदस्यहरु, पुर्व क्षेत्रीय अध्यक्ष राजकुमार यादव, पालिका अध्यक्षहरु, पालिका सदस्यहरु, वडा अध्यक्ष तथा इन्चार्जहरु, वडा सदस्यहरु तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !