जनकपुरधाम , ७ मंसिर । मिथिलाञ्चलको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक परम्परासँग जोडिएको रामजानकी विवाह पञ्चमी महोत्सवलाई शान्त, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, धनुषाले विशेष सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्र तथा परिक्रमा सडकको दायाँबायाँ क्षेत्रमा मदिरा बिक्री–वितरण, पशुपन्छी काट्न, माछा–मासु बिक्री तथा वितरण तथा अन्य नसालु पदार्थको सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको जनाएको छ।
सूचनाअनुसार मिति २०८२ मंसिर ७ गते राति १२ः०० बजेदेखि २०८२ मंसिर ९ गते राति १२ः०० बजेसम्म उक्त प्रतिबन्ध लागू हुनेछ। सरोकारवालासँग गरिएको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ।
अधिकारीहरूले सूचनाको उल्लंघन गरी प्रतिबन्धित काम गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएका छन्। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण, व्यवसायी तथा श्रद्धालुहरूलाई नियमको पालना गरी सहयोग गर्न आग्रह गरेको छ।
विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित, मर्यादित र भक्तिमय वातावरणमा मनाउने उद्देश्यले यो निर्णय लिइएको जनाइएको छ।





