विराटनगर , १६ मंसिर । उज्यालो नेपाल पार्टी घोषणा गरेपछि ऊर्जा तथा भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले दुई दिन पूर्वी नेपालमा सक्रियता देखाए।
आइतबार विराटनगरको कोशी अस्पताल निर्माणाधीन भवन निरीक्षण गरेका उनले ठेकेदारलाई काम गति बढाउन निर्देशन दिए। त्यसपछि धरानमा आयोजित समर्थक भेटघाट कार्यक्रममा सहभागी भए।
सोमबार बेलबारीमा आदीवासी जनजाति महासंघको भवनमा समर्थकसँग करिब १२ मिनेट सम्बोधन गर्दै घिसिङले नयाँ शक्तिहरू मिलेर अघि बढ्नुपर्ने सन्देश दिए। उनले भने, “देशको समृद्धिका लागि एउटा क्षेत्रको उज्यालो पर्याप्त छैन, समग्र क्षेत्रमा उज्यालो ल्याउन आवश्यक छ। सुशासन, सामाजिक न्याय, रोजगारी सिर्जना र गरिबी हटाउने उज्यालो हामीले ल्याउनुपर्छ।”
घिसिङले सबै वैकल्पिक शक्ति एकठाउँमा उभिनुपर्नेमा जोड दिए। उनले सही नेतृत्व र जनताको विश्वास जितेका व्यक्तित्वहरूलाई अघि ल्याउन आग्रह गर्दै भने, “अबको दिनमा हामी एक भएर देशको परिवर्तनका लागि आएको अवसर सदुपयोग गर्नुपर्छ।”
पत्रकारको प्रश्नमा उनले फागुन २१ गतेको निर्वाचनका लागि बजेटको अभाव नभएको बताए। रवि लामिछाने र बालेनसँगको एकताका प्रयासबारे सोध्दा सबै वैकल्पिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताए। चुनाव लड्ने–नलड्ने विषयमा भने उनले स्पष्ट संकेत गर्दै, “हामी चुनाव लड्ने बेलामा व्यवस्थापन गरेर अघि बढ्छौं।”
धरानमा घिसिङले हर्क साम्पाङसँग भेट्न खोजे पनि मेयर साम्पाङ व्यस्त भएपछि भेट सम्भव भएन। त्यसबाहेक पूर्वपश्चिम राजमार्गको निर्माणाधीन ठेकेदारसँग समस्या सुनेर उनी सहजीकरण गर्ने आश्वासन दिए।
बेलबारी र धरान भ्रमणपछि घिसिङ भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका छन्। पार्टीले यस भ्रमणमा उज्यालो नेपालको प्रचारसँगै वैकल्पिक शक्ति एकठाउँमा मिलाउनुपर्ने सन्देश केन्द्रित गरेको छ।





