काठमाडौं , २२ मंसिर  । प्रधानमन्त्री सुशीला कार्की र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँबीच शनिबार छलफल भएको छ। प्रधानमन्त्री कार्कीको निम्तोपछि प्रसाईँसहित उनको टोली सिंहदरबार पुगेको हो।

प्रधानमन्त्रीसँगको भेटअघि प्रसाईँ समूहले केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि वार्ता गरेको थियो। प्रसाईँले निरन्तर विभिन्न राजनीतिक तथा सामाजिक मुद्दा उठाउँदै आन्दोलन गर्ने घोषणा गरिरहेका छन्। सरकारले भने प्रसाईँ समूहले उठाएका मागहरूबारे संवादमै समाधान खोज्ने नीति लिएको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रसाईँ समूहले सरकारप्रति रहेका असन्तुष्टिहरू तथा मागबारे जानकारी गराएको थियो। प्रधानमन्त्री कार्कीले जटिल विषयहरूमा पनि वार्ता र संस्थागत प्रक्रियाबाटै समाधान सम्भव हुने विश्वास व्यक्त गरेकी छन्।

दुर्गा प्रसाईँ पछिल्ला महिनाहरूमा आक्रमक अभिव्यक्तीसहित सडक र सामाजिक अभियानमा सक्रिय देखिँदै आएका छन्। उनी नेतृत्वको समूहले विभिन्न क्षेत्रीय तथा राष्ट्रिय मुद्दामा आन्दोलन चर्काउने चेतावनी दिँदै आएको छ। यसबीच सरकारले सुरक्षा स्थितिका विषयसमेत मूल्यांकन गरिरहेको छ।

सम्बन्धित माग र आगामी चरणबारे दुवै पक्षले औपचारिक विवरण सार्वजनिक नगरे पनि संवादको प्रक्रियाले अर्को चरणमा प्रवेश गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !