काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हरूको सूची टुंगो लगाएको छ। बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू पक्का गरेको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन्।
बैठकको निर्णयअनुसार महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २१५४ जना प्रतिनिधि सहभागी हुनेछन्। साथै, केन्द्रीय सल्लाहाकार परिषदका ३०९ सदस्यहरू पनि महाधिवेशनमा उपस्थित रहनेछन्।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुने तय भएको छ। महाधिवेशनमा पार्टीको नेतृत्व, नीति तथा कार्यक्रमका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिनिधिहरूको टुंगो लगाएसँगै महाधिवेशनको तयारी तीव्र भएको छ। पार्टी भित्र युवा तथा महिला प्रतिनिधित्वलाई पनि सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। यस पटक युवा क्लस्टर छुट्ट्याएर प्रतिनिधि चयन गरिएको र महिला प्रतिनिधिहरूको संख्या पनि पहिलेभन्दा बढाइएको छ।
एमालेका नेताहरूले महाधिवेशनलाई स्वस्थ, पारदर्शी र लोकतान्त्रिक वातावरणमा सम्पन्न गर्न जोड दिएका छन्। पार्टी एकता र आगामी निर्वाचन तयारीमा महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





