काठमाडौं , २५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिने वा नदिने निर्णय व्यक्तिगत विषय रहेको बताएका छन्।
बिहीबार अन्तरक्रिया कार्यक्रममा सम्पादकहरूले सोध्दा ओलीले भने, “बयान दिने जाने नजाने मेरो कुरा होला नि। कानुनी व्यवस्था अनुसार कुनै सजाय भोग्नुपर्छ भने म गर्छु।” उनले आफ्नो गुटका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित अन्य नेताहरूको चाहना पनि आफू जानकार रहेको बताए।
ओलीले थपे, “प्रधानमन्त्री सुशीला कार्कीजीको मनशाय र वरिष्ठ उपाध्यक्षजी लगायतका मेरा मित्रहरूको चाहना एउटै छ। उहाँको गुट किन जिद्दीमा लागेको हो म बुझ्दिन। त्यो नगरेर पोलिटिक्स गरेको भए राम्रो हुन्थ्यो।”
उनले विरोधीहरूले सिर्जना गर्ने दबाब वा लखेटाइबाट आफू नअसिद्धिने पनि स्पष्ट पारे। ओलीले भने, “म हावा भरेको भकुण्डो जस्तो हुँ। जति जोडले पछार्यो उति माथि पुग्छु। छुद्र ढंगले चल्नु, वैरभावपूर्ण ढंगले चल्नु राजनीतिमा स्वस्थता ल्याउँदैन। स्वस्थ ढंगले चल्नु वाञ्छनीय छ।”
यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई छिट्टै आयोगमा बयान दिनुपर्ने बताइसकेका थिए। आयोगले तत्कालीन सरकार प्रमुख भएकाले ओलीसँग भदौ २३ र २४ गतेका घटनाबारे बयान लिने तयारी गरिरहेको छ।
यद्यपि ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकाप्रति प्रश्न उठेकाले बयान दिन नजाने संकेत गर्दै आएका छन्। यसबीच पार्टी भित्र र सरकारसँगको समन्वयमा अझै तदारुकता देखिनुपर्नेछ।





