भागचरण यादव
जनकपुरधाम २७ मंसिर । जनकपुरधामस्थित ऐतिहासिक तथा सांस्कृतिक संस्थाका रूपमा परिचित मिथिला नाट्यकला परिषद्को ४६औँ साधारण सभाबाट १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। गायक तथा संगीतकार सुनील कुमार मल्लिकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
शनिबार सम्पन्न साधारण सभापछि आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अबिर, माला लगाएर सम्मान तथा बधाई दिइएको थियो। कार्यक्रममा कलाकार, संस्कृतिकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नवगठित कार्यसमितिले मिथिलाको भाषा, कला, संस्कृति तथा लोकनाट्यलाई थप सशक्त बनाउने, युवा प्रतिभालाई उचित मञ्च प्रदान गर्ने, परम्परागत नाट्यकलालाई समयअनुकूल आधुनिक अभ्याससँग जोड्दै अघि बढाउने तथा मिथिलाको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
नयाँ कार्यसमितिमा अध्यक्षमा सुनील कुमार मल्लिक चयन भएका छन्। उपाध्यक्षमा रामनारायण ठाकुर र संगीता देव रहेका छन्। महासचिव विष्णुकान्त मिश्र, सचिव धीरज ठाकुर र कोषाध्यक्ष अनितारानी मण्डल चयन भएका छन्।
यसैगरी सदस्यहरूमा गंगाकान्त झा, चन्द्रशेखर यादव, मुकेश झा, मुकेश ठाकुर, सन्नी राउत, ध्रुव झा र इन्द्रेश मिश्र रहेका छन्।
नयाँ कार्यसमिति गठनसँगै परिषद्ले मिथिलाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।





