भागचरण यादव
जनकपुरधाम २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप-महानगरपालिकाको नगर अधिवेशन नगर अध्यक्ष बिशुनदेव साहको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय नेता एवं जनकपुरधाम उप-महानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
जनकपुरधाम–४ स्थित राधाकृष्ण मन्दिर सभाहोलमा आयोजित अधिवेशनमा उप-महानगरपालिकाभित्रका २५ वटै वडाबाट प्रतिनिधि, अग्रज नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले संगठन सुदृढीकरण, राजनीतिक रणनीति र स्थानीय तहमा पार्टीको भूमिकाबारे व्यापक छलफल गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा मधेश आन्दोलनका क्रममा घाइते भएका तीन जनामध्ये सुनिल दास र अरमान खानलाई नगर समिति तथा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले साल ओढाएर सम्मान गरेका थिए। सम्मानित व्यक्तिहरूले मधेश आन्दोलनको उपलब्धि संरक्षण गर्दै सामाजिक न्यायका लागि निरन्तर संघर्ष आवश्यक रहेको धारणा व्यक्त गरे।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालकिशोर साहले पार्टीको मूल एजेन्डा सामाजिक न्याय, समावेशिता र संघीयताको कार्यान्वयन भएको उल्लेख गरे। उनले स्थानीय तहबाटै संगठन बलियो बनाएर जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। “जनताको मुद्दालाई केन्द्रमा राखेर संगठन विस्तार गर्न सकिए मात्र आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सकिन्छ,” उनले भने।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपमहासचिव दीपक कार्कीले पार्टीको संगठनात्मक संरचना मजबुत बनाउने दिशामा नगर अधिवेशनको भूमिका महत्वपूर्ण हुने बताए। केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामआशिष यादवले मधेश आन्दोलनका उपलब्धिहरू संस्थागत गर्न पार्टी पंक्ति एकजुट हुनुपर्ने बताए।
यसैगरी केन्द्रीय सदस्यहरू ममता मण्डल, जितेन्द्र यादव र रामेश्वर महरा, पूर्व मन्त्री महासचिव ज्ञानेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव तथा युवा नेता साजिद हुसेन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीलाई जनमुखी र संघर्षशील बनाउने आवश्यकता औंल्याए।
वक्ताहरूले संघीयता, समावेशी लोकतन्त्र र सामाजिक न्यायको कार्यान्वयन अझै अपूर्ण रहेको उल्लेख गर्दै त्यसका लागि जसपा नेपाल निर्णायक भूमिकामा अघि बढ्नुपर्ने धारणा राखे। अधिवेशनले पार्टी संगठनलाई थप सक्रिय र जनउत्तरदायी बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ।





