जनकपुरधाम,२९ मंसिर । पेस फाउन्डेशनको आयोजनामा तथा जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा निर्माणाधीन रामजानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशालामा पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले एक कार्यक्रमबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक ऊर्जातर्फ अग्रसर गराउने बताउनुभयो। स्थानीय तहमा क्रिकेटजस्ता खेलकुद गतिविधिको विस्तार हुनु धनुषा जिल्लाका लागि गर्वको विषय भएको उहाँको भनाइ थियो।
धनुषा जिल्लाका १८ वटा पालिकामध्ये ८ वटा पालिकाको सहभागितामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्थानीय खेलाडीको प्रतिभा पहिचान हुनुका साथै जिल्लामा क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाही, जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेयलगायत विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो। साथै, जिल्ला क्रिकेट संघका पदाधिकारी, विभिन्न पालिकाका प्रतिनिधि, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





