जनकपुरधाम ४ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ। शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको विश्वासको मत प्रस्ताव प्रदेशसभामा रहेका १० वटै राजनीतिक दलका समर्थनमा पारित भएको हो।
प्रदेशसभामा उपस्थित ९२ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको पक्षमा विश्वासको मत दिएका छन्। नेकपा एमालेसहित सत्तापक्ष तथा प्रतिपक्षमा रहेका सबै दलका प्रदेशसभा सदस्यले समर्थन जनाएपछि मुख्यमन्त्री यादवले सर्वसम्मतजस्तै समर्थनसहित विश्वासको मत हासिल गर्नुभएको हो।
विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री यादवले मधेश प्रदेशको समग्र विकास, सुशासन, सामाजिक सद्भाव तथा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबै राजनीतिक दलहरूको सहयोगप्रति आभार व्यक्त गर्दै प्रदेशको हितका लागि सहकार्य र सहमतिको राजनीति आवश्यक रहेको धारणा राख्नुभयो।
प्रदेशसभामा देखिएको व्यापक समर्थनले मधेश प्रदेशमा राजनीतिक स्थायित्व र सहकार्यको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।





