जनकपुरधाम, ५ पुष । एक महिनाभन्दा लामो समयदेखि रिक्त रहेको मधेस प्रदेश सभामुख पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन्।
प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, सात दलीय साझा उम्मेदवार जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादव र एमालेको तर्फबाट त्रिलोकी प्रसादले मनोनयन दर्ता गराएका छन्।
राम अशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह, समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेका छन्। भने त्रिलोकी प्रसादको प्रस्तावकमा शारदादेवी थापा, समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन्। दुबै प्रस्तावक र समर्थक एमालेकै प्रदेश सभा सदस्य हुन्।
नयाँ सभामुख चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेश सभामा निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यसअघि आचरणअनुकूल काम नगरेको आरोपमा तत्कालीन सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते पदमुक्त गरिएको थियो। कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ७६ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मण्डलविरुद्ध कार्तिक २६ गते महाभियोग प्रस्ताव दर्ता गरिएको थियो।





