जनकपुरधाम , ६ पुष । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी(जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत यादव सभामुखमा निर्वाचित भएका हुन्।

सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवले ७२ मत प्राप्त गरे भने विपक्षमा २४ मत परेको थियो। सभामुख निर्वाचनका क्रममा प्रदेशसभामा कुल ९६ सांसद उपस्थित थिए।

सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले मत परिणाम सार्वजनिक गर्दै यादव निर्वाचित भएको घोषणा गरेकी हुन्। यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएपछि सभामुख पदका अर्का उम्मेदवार नेकपा एमालेका त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि बढाइएन।

नव निर्वाचित सभामुख रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी यसअघि जसपा नेपालको प्रदेशसभा प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहेका थिए।

यसअघि मधेश प्रदेशसभाको सभामुख पदमा रहेका नेकपा एमालेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गरेको थियो। त्यसयता सभामुख पद रिक्त रहेको थियो।

रामअशिष यादव सभामुखमा निर्वाचित भएसँगै मधेश प्रदेशसभामा लामो समयदेखि देखिएको नेतृत्वको रिक्तता अन्त्य भएको छ। गठबन्धन दलहरूले नयाँ सभामुखको नेतृत्वमा प्रदेशसभाको कामकारबाही अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !