काठमाडौँ , १० पुष । नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको तयारीमा जुटेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ललितपुरको ज्वागल पुगेका छन्। पछिल्ला दुई दिनयता बालेनले विभिन्न राजनीतिक दलका नेता, जेन–जी अभियन्ता तथा सार्वजनिक व्यक्तित्वहरूसँग निरन्तर छलफल र संवाद गर्दै आएका छन्।
बिहीबार मात्रै मेयर शाहले उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतसँग भेटवार्ता गरिसकेका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नयाँ दल र वैकल्पिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे गम्भीर संवाद भइरहेको बताइएको छ।
विशेषगरी पुस १३ र १४ गतेभित्र समानुपातिकतर्फका बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने समयसीमा नजिकिँदै जाँदा बालेनले राजनीतिक सक्रियता तीव्र बनाएका हुन्। यही सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
राजनीतिक स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक धारको आवश्यकता, युवाको सहभागिता र आगामी निर्वाचनमा सम्भावित सहकार्यका विषयमा छलफल भएको बताइएको छ। यद्यपि भेटपछि औपचारिक रूपमा कुनै सहमति सार्वजनिक गरिएको छैन।
बालेन शाह पछिल्लो समय परम्परागत दलहरूप्रति असन्तुष्ट जनमतलाई संगठित गर्दै नयाँ राजनीतिक विकल्प निर्माण गर्ने दिशामा अग्रसर देखिएका छन्। विभिन्न दलका नेता, स्वतन्त्र व्यक्तित्व र अभियन्तासँगको भेटघाटले आगामी दिनमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेन–बाबुराम भेटले वैकल्पिक राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोलेको छ। आगामी दिनमा यस संवादले कुन रूप लिन्छ भन्ने चासो बढ्दै गएको छ।





