काठमाडौं , १० पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र विभिन्न जेन–जी अभियानका अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न करिब साढे ४ बजे ललितपुरको कुपण्डोलस्थित मेयर बालेनका सहयोगी कुमार बेनको निवासमा उक्त भेटवार्ता भएको हो।
भेटवार्तामा नेपाल जेन–जी फ्रन्ट, जेन फोर्सलगायत विभिन्न समूहमा आबद्ध युवाहरूको सहभागिता रहेको थियो। छलफलमा जेन–जी अभियन्ता रक्षा बम, पुरुषोत्तम यादव, रोहनराज दंगाल, युजन राजभण्डारी, जेम्स कार्कीलगायत सहभागी भएका थिए।
स्रोतका अनुसार भेटमा देशको वर्तमान राजनीतिक अवस्था, युवाको भूमिकाबारे, वैकल्पिक राजनीतिक शक्ति निर्माण, सुशासन, रोजगारी, शिक्षा तथा लोकतान्त्रिक अभ्यासका विषयमा छलफल भएको बताइएको छ। जेन–जी समूहले परम्परागत राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै नयाँ सोच र नेतृत्व आवश्यक रहेको धारणा राखेको जनाइएको छ।
मेयर बालेन शाह पछिल्ला दिनहरूमा राजनीतिक भेटघाटलाई तीव्र बनाउँदै आएका छन्। यसअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने, स्वतन्त्र नेता अमरेशकुमार सिंह, शिशिर खनाललगायत विभिन्न राजनीतिक व्यक्तित्वसँग भेट गरिसकेका छन्।
यही क्रममा बिहीबार नै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि बालेन शाहलाई भेट्न कुपण्डोल पुगेका थिए। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नयाँ दल र वैकल्पिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे व्यापक संवाद भइरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेन र जेन–जी समूहबीचको भेटले युवा केन्द्रित वैकल्पिक राजनीतिक धारलाई थप बल पुग्ने संकेत देखिएको छ। आगामी दिनमा यी छलफलहरूले कुन रूप लिन्छन् भन्ने चासो बढ्दै गएको छ।





