काठमाडौ, पुस १९ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन विषयमा कानुनविद्हरूसँग परामर्श गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा १५औँ महाधिवेशनको कार्यतालिका पछाडि धकेल्ने निर्णय गरेको एक दिनपछि महामन्त्रीद्वयले कानुनी परामर्श लिएका हुन् । विशेष महाधिवेशनमागका सम्बन्धमा विधानअनुसार के–कस्ता प्रक्रिया अपनाउन सकिन्छ भन्ने विषयमा उनीहरूले कानुनविद्सँग छलफल गरेको बुझिएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनका करिब ५४ प्रतिशत प्रतिनिधिहरूले गत २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै पार्टीको केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानअनुसार आवश्यक संख्यामा हस्ताक्षर बुझाइएपछि तीन महिनाभित्र विशेषमहाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।
हस्ताक्षर बुझाएको तीन महिने समयसीमा २८ पुसमा पूरा हुँदैछ । तर, पार्टी नेतृत्वले हालसम्म विधानबमोजिम विशेष महाधिवेशन बोलाउने विषयमा स्पष्ट चासो नदेखाएको आरोप आन्तरिक रूपमा उठ्दै आएको छ ।
यसैबीच, विशेष महाधिवेशन बोलाउने विषयमा पार्टीभित्र बहस चर्किँदै गएको छ । महामन्त्रीद्वयको कानुनी परामर्शलाई पार्टीको आगामी कदमका रूपमा हेरिएको छ ।





