काठमाडौं, २१ पुष । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कल्याणकारी कार्यक्रम सञ्चालनका लागि आवश्यक अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

त्यसैगरी बैठकले घनश्याम पराजुलीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गरेको छ। राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गरिएको पनि निर्णयमा उल्लेख छ।

समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धि कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको मन्त्री खरेलले बताए।

बैठकले नेपाल सरकार र अन्य देशसँगको सहकार्यसम्बन्धी निर्णय पनि गरेको छ। नेपाल सरकार र ओमान सरकारबीच समझदारी पत्र र नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।

 

त्यसैगरी, बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२ र वन तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ।

मन्त्री खरेलका अनुसार यी निर्णयहरू सरकारको सामाजिक, प्रशासनिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने प्रयासको हिस्सा हुन्। जेनजी सहिद परिवार कल्याणकारी समाजलाई दिइने अनुदानले सहिद परिवारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !