काठमाडौं ,  २१ पुष । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख सरुवा भएका छन्। सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुर मालपोत कार्यालयका प्रमुख माधव घिमिरे तथा काठमाडौं चाबहिल मालपोत कार्यालयका प्रमुख दीपेन्द्र खत्रीलाई जिम्मेवारीबाट हटाउँदै सामान्य प्रशासन मन्त्रालयमा तानेको हो।

भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार ती कार्यालय प्रमुखहरूलाई छड्के अनुगमनपछि सरुवा गरिएको हो। केही समयअघि भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा।डा। कुमार इङनामले उपत्यकाका मालपोत कार्यालयहरूमा छड्के अनुगमन गरेका थिए। अनुगमनका क्रममा कार्यालय प्रमुखहरूले बिचौलियासँग साँठगाँठ गरेको गम्भीर आरोप लागेपछि उनीहरूलाई हटाइएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकाका मालपोत कार्यालयहरूमा लामो समयदेखि बिचौलियाको प्रभाव बढ्दै गएको र त्यसमा कर्मचारीहरूको संलग्नता रहेको गुनासो निरन्तर आइरहेको थियो। यस्ता गुनासोका आधारमा सरकार कडाइका साथ अघि बढेको बताइएको छ।

सरुवा गरिएका ती तीनै जना कार्यालय प्रमुख केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालीन मन्त्री बलराम अधिकारीको कार्यकालमा सम्बन्धित मालपोत कार्यालयमा प्रमुखका रूपमा सरुवा भएका थिए। वर्तमान सरकारले सेवा प्रवाहलाई पारदर्शी र चुस्त बनाउने उद्देश्यले उनीहरूलाई हटाएको हो।

 

मन्त्रालयले मालपोत कार्यालयहरूमा हुने अनियमितता, ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न थप अनुगमन र सुधारका कदम चाल्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !