काठमाडौं  २५ पुष  । २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा साढे २३ करोड रुपैयाँभन्दा बढी नगद जलेर नष्ट भएको तथ्य सार्वजनिक भएको छ। आन्दोलन पछि गठन गरिएको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा नगद तथा बहुमूल्य सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

प्रतिवेदन अनुसार जेनजी आन्दोलनमा नगदतर्फ कुल साढे ७८ करोड रुपैयाँ क्षति भएकोमा २३ करोड ६९ लाख रुपैयाँ बराबरका नोट आगजनीका कारण जलेर नष्ट भएका छन्। यस्तै, चोरीका कारण ३२ करोड ८१ लाख रुपैयाँ बराबरको नगद क्षति भएको उल्लेख छ भने तोडफोडबाट करिब २२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

समग्रमा नगद तथा बहुमूल्य वस्तु र सम्पत्तिमा पुगेको कुल क्षति २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कुल क्षतिमध्ये ५७।५ प्रतिशत चोरी, ३०.९ प्रतिशत आगजनी र ११.६ प्रतिशत तोडफोडका कारण भएको देखिएको छ।

सुन, चाँदी, हिरा, मोतीजस्ता बहुमूल्य धातुमा पनि ठूलो क्षति पुगेको छ। चोरीबाट मात्रै १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको बहुमूल्य धातु हराएको छ भने आगजनीबाट १३ करोड ११ लाख र तोडफोडबाट ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

 

निजी प्रतिष्ठानमा रहेको नगद तथा बहुमूल्य वस्तुमा ५६ करोड १८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ, जुन निजी क्षेत्रले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो।

घरपरिवारतर्फ हेर्दा सबैभन्दा बढी क्षति सुन, चाँदी, हिरा र मोतीमा ७५ करोड ३१ लाख रुपैयाँ बराबर पुगेको छ। नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनले देखाएको छ।

समितिको निष्कर्ष अनुसार जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मुख्य कारण चोरी र आगजनी रहेको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !