काठमाडौं ,  २५ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशनअघि उद्घाटन सत्रपूर्व जुलुस निकाल्ने तयारी गरिएको छ। पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो १२ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ। उद्घाटनअघि बिहान ११ बजे उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने महाधिवेशन आयोजक समितिले जनाएको छ।

शुक्रबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले जुलुसका रुटबारे जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौं र ललितपुरका ६ स्थानबाट जुलुस निस्केर भृकुटीमण्डपमा पुग्नेछ।

सुन्धाराबाट निस्कने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिमका जिल्लाका नेता–कार्यकर्ता तथा काठमाडौं क्षेत्र नम्बर ८, ९ र १० का कांग्रेसजन सहभागी हुनेछन्। यो जुलुस सुन्धारा–वीर अस्पताल–रत्नपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ र काठमाडौं क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन्।

 

पद्मकन्या क्याम्पसबाट बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नेता–कार्यकर्ता सहभागी हुनेछन्। यो जुलुस पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछ।

शंकरदेव क्याम्पसबाट भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं क्षेत्र नम्बर २ र ३ का नेता–कार्यकर्ता सहभागी हुनेछन्।

कमलपोखरीबाट काठमाडौं क्षेत्र नम्बर १ र ४ का नेता–कार्यकर्ता चारखाल, डिल्लीबजार हुँदै भृकुटीमण्डप पुग्नेछन्।

त्यसैगरी ललितपुरको कुपण्डोलबाट ललितपुर र मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुने जुलुस थापाथली–त्रिपुरेश्वर हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

आयोजक समितिले जुलुसलाई शान्त, अनुशासित र व्यवस्थित बनाउन सबै सहभागीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !