काठमाडौँ, २५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीचको एकता प्रक्रिया अझै पूर्णता पाएको छैन। पार्टी संरक्षक कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार भएको भेटवार्तामा संघीयता, धर्मनिरपेक्षता र समावेशिताको विषयमा लिखित सहमति जुट्न सकेको छैन।
पुस १४ गते दुई पार्टीबीच एकता गर्ने प्रारम्भिक सहमति भए पनि कार्यान्वयन पक्षमा विवाद देखिएको छ। उज्यालो नेपाल पक्षले रास्वपामा सम्मानजनक हिस्सेदारी, समानुपातिक सूची संशोधन र उम्मेदवारी प्याकेजमा सहमति माग गर्दै आएको छ।
उनेपा निकट स्रोतका अनुसार, कुलमान–रविबीच ‘वान–टु–वान’ छलफल भए पनि लिखित सम्झौतामा हस्ताक्षरको विषयमा सहमति हुन सकेको छैन। कुलमानका सहोदर दाइ गणेश घिसिङले भने, “सैद्धान्तिक मुद्दामा लिखित सहमति हुनुपर्छ भन्ने अडान छ, अहिलेसम्म सहमत भएको छैन।”
यसअघि सहमतिमा उज्यालो नेपालले रास्वपामा कुलमानलाई दोस्रो वरियताको उपसभापति, सहमहामन्त्री र सहप्रवक्ता दिने सहमति भएको थियो। तर केन्द्रीय सदस्य, समानुपातिक सूची र उम्मेदवारी समायोजनका विषयमा विवाद जारी छ।
उज्यालो पक्षले समानुपातिक बन्द सूचीमा पठाएका १८ जनाका नाम प्राथमिकतामा राख्नुपर्ने र केही नाम माथि तान्नुपर्ने माग गर्दै आएको छ। तर रास्वपा पक्षले यसलाई अस्वीकार गर्दै आएको छ।
पुस १४ अघि रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग सहमति गरी केन्द्रीय समितिमा २६ सदस्य थप गरेको थियो। उज्यालो नेपालतर्फ अहिलेसम्म कुनै नेता समावेश नभएको छ।
स्रोतका अनुसार, दुई पार्टीबीचको एकता प्रक्रिया विवाद र लिखित सहमतिबिना अधूरो रहँदा आगामी राजनीतिक रणनीतिमा ढिलाइ हुन सक्ने देखिएको छ।





