रौतहट २५ पुष । देशको बदलिँदो राजनीतिक परिवेश र युवापुस्ताले परिवर्तनको बाटो रोजेको सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकुमार दासले रौतहट क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।
दासले युवाको चाहना र जनताको अपेक्षालाई आत्मसात गर्दै क्षेत्रको समग्र विकासका लागि उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।
उनले विगत १८ वर्षदेखि मधेशी, दलित, पिछडावर्ग, मुस्लिम तथा आम जनसमुदायको मान, सम्मान र पहिचानका लागि निरन्तर संघर्ष गर्दै आएको दाबी गरेका छन्। देशमा भएका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिकामा रही मोर्चा सम्हालेको अनुभव आफूसँग रहेको उनले उल्लेख गरे।
दासका अनुसार न्याय, समानता र अधिकारका सवालमा आफू कहिल्यै पछाडि नहट्ने र सधैं अडिग रहने प्रतिबद्धता उनको राजनीतिक यात्राको मूल आधार हो। उनले रौतहट क्षेत्र नं. ४ का मतदाताको एक–एक मतले नेतृत्व परिवर्तनमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै युवापुस्ताले सुरु गरेको आन्दोलन र परिवर्तनको चाहनालाई सम्मान गर्दै सबैलाई परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्।
उनले उम्मेदवारी (नमिनेसन)दर्ता भएपछि मतदातामाझ पुगेर आफ्नो स्पष्ट भिजन, आगामी दिशा र क्षेत्रको विकासका लागि विस्तृत रोडम्याप सार्वजनिक गर्ने बताएका छन्। हाल सार्वजनिक गरिएका प्राथमिक मुद्दाहरू यसप्रकार रहेका छन् ।
दलित समुदायको उत्थानका लागि प्रत्येक दलित बस्तीमा पक्की घर, खानेपानी र शौचालयको व्यवस्था, दलित विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रवृत्ति, दलित युवालाई सीपमूलक तालिम र रोजगारी, छुवाछुत तथा विभेद अन्त्यका लागि कडा कानुनी कार्यान्वयन र दलित महिलालाई आत्मनिर्भर बनाउने उद्यम कार्यक्रम सञ्चालन गर्नु रहेको ऊनी बताउछन ।
महिला अधिकार सुदृढीकरणका लागि निःशुल्क स्वास्थ्य सेवा (विशेषगरी प्रसूति जाँच), महिला समूहलाई सहुलियत ऋण तथा उद्यम सहयोग, घरेलु हिंसा अन्त्यका लागि कानुनी सहयोग केन्द्र स्थापना र स्थानीय तहमा महिलाको नेतृत्व तथा सहभागिता सुनिश्चित गर्ने योजना रहेको उनले बताए।
पहाडी–मधेशी समुदायबीच सद्भाव र सहकार्य प्रवर्द्धन गर्दै बस्ती–बस्तीमा सडक, पानी र स्वास्थ्य सुविधाको विस्तार, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा सबै समुदायलाई समान अवसर र सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन ।
शिक्षा सुधारलाई भविष्यको आधार मान्दै सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी, दलित, गरिब र पिछडावर्गका लागि निःशुल्क शिक्षा, प्राविधिक, सीपमूलक तथा आईटी शिक्षाको विस्तार, विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय र आधुनिक प्रयोगशाला स्थापना, साथै युवाका लागि लोकसेवा तथा प्रतिस्पर्धी तयारी केन्द्र सञ्चालन गर्ने उनले उदघोष गरे।
स्वास्थ्य सेवा मजबुत बनाउन प्रत्येक वडामा स्वास्थ्य चौकी स्तरोन्नति, गरिब, वृद्ध र अपाङ्ग नागरिकलाई निःशुल्क उपचार, एम्बुलेन्स र औषधिको सहज उपलब्धता, मातृ–शिशु स्वास्थ्य कार्यक्रम तथा सरसफाइ र पोषण अभियानलाई प्राथमिकतामा रखने उनले स्पष्ट पारे ।
बाटो, सडक र यातायाततर्फ गाउँ–गाउँ जोड्ने पक्की सडक निर्माण, वर्षायाममा हिलाम्मे बाटोको अन्त्य, कृषि उपज ढुवानीका लागि ग्रामीण सडक, पुल, कल्भर्ट र नाला निर्माण आदि कार्य प्राथमिकतामा राखने उनि बताउछन ।
खानेपानी र सरसफाइ अन्तर्गत प्रत्येक घरमा शुद्ध खानेपानीको पहुँच, डिप बोरिङ, धारा र पानी ट्यांकी निर्माण, बाढी तथा डुबान नियन्त्रणका लागि ठोस पहल, शौचालय र फोहर व्यवस्थापनको स्थायी समाधान,
गरिबी निवारण र सामाजिक सुरक्षाका लागि अति गरिब परिवारको पहिचान र लक्षित सहयोग, निःशुल्क स्वास्थ्य बीमा, वृद्ध, अपाङ्ग र एकल महिलाका लागि सामाजिक सुरक्षा, सीप र रोजगारीमार्फत गरिबी अन्त्य गर्ने स्पष्ट नीति अपनाउने उनले बताए।
किसानको जीवनस्तर सुधारका लागि सिँचाइ नहर विस्तार, मल, बीउ र औषधिको सहज उपलब्धता, न्यूनतम समर्थन मूल्यको व्यवस्था, कृषि सहकारी र बीमा, पशुपालन तथा तरकारी खेती प्रवर्द्धन देखी
युवा रोजगारी र अवसर सिर्जनाका लागि स्थानीय स्तरमै रोजगारी, वैदेशिक रोजगारमा जानुअघि सीप र सुरक्षासम्बन्धी तालिम, खेलकुद र नेतृत्व विकास कार्यक्रम तथा युवा स्टार्टअप सहयोग कोष स्थापना गर्ने आफनो लक्ष्य राखिएको बताइएको छ।
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विकास योजनामा पारदर्शिता, जनताको काम समयमै सम्पन्न गर्ने व्यवस्था, अनियमिततामा शून्य सहनशीलता र जनप्रतिनिधिको जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता, शान्ति, सुरक्षा र सामाजिक न्यायका क्षेत्रमा सीमा सुरक्षामा ध्यान,
त्यसैगरी मधेशी, पहाडी, थारु, मुस्लिम, आदिवासी, जनजाति, दलितलगायत सबै समुदायको मान, सम्मान, पहिचान र स्वाभिमानको रक्षा गर्नु आफ्नो पहिलो प्राथमिकता रहने दासले स्पष्ट पारेका छन्।





