काठमाडौं, पुस २८। राष्ट्रिय सभाको बैठक सिंहदरबारमै बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन जलेपछि वैकल्पिक व्यवस्थाका रूपमा सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई बैठक कक्षका रूपमा तयार गरिएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उक्त हललाई राष्ट्रिय सभाको बैठक सञ्चालनका लागि आवश्यक व्यवस्थापन गरिएको छ । उनका अनुसार करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी तयारी पनि माघ ४ गतेअघि नै पूरा हुने छ ।

 

सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गर्दै अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था छ ।

जेनजी आन्दोलनका क्रममा संसद् भवनमा क्षति पुगेपछि वैकल्पिक स्थानको खोजी गरिएको थियो । सोही कारण सिंहदरबारमै राष्ट्रिय सभाको बैठक बस्ने व्यवस्था गरिएको हो । जेनजी आन्दोलन २३ र २४ भदौमा भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार गठन भई प्रतिनिधिसभा विघटन गरिएको थियो भने राष्ट्रिय सभाको अधिवेशन गत भदौ ३१ गते अन्त्य गरिएको थियो ।

 

संसद् सचिवालयका अनुसार आगामी अधिवेशनमा विभिन्न विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिका अध्ययन प्रतिवेदन तथा वार्षिक प्रतिवेदनहरू पेश हुने छन् । साथै, अधिवेशन अवधिमा सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्ताव समेत पेश गर्न सक्नेछन् ।

राष्ट्रिय सभामा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन हुने व्यवस्था रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !