जनकपुरधाम, ३० पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन सफल र निष्पक्ष रूपमा सम्पन्न गर्नु सुरक्षा निकायमा आबद्ध सबैको साझा दायित्व भएको बताएका छन्।
सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।
“निष्पक्ष निर्वाचनका लागि सुरक्षा निकायका सबै अङ्ग गम्भीरतापूर्वक आ–आफ्नो कार्यक्षेत्रमा लाग्नुपर्छ,” उनले भने, “कुनै पनि किसिमको लापरवाही स्वीकार्य हुँदैन।”
गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै समाजमा द्वन्द्व फैलाउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरे। प्रचलित कानुनविपरीत गतिविधि गर्ने जो–कोहीमाथि कारबाही हुने चेतावनी दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोगप्रति विशेष सतर्क रहन आग्रह गरे।
जेन–जीको चाहनाअनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले सुशासन कायम गर्नु र तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख कार्यादेश भएको स्पष्ट पारे।
उहाँले राष्ट्रले सुम्पिएको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिँदै सीमित साधन र स्रोतका बाबजुद पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय निर्वाचनलाई सफल बनाउन सक्रिय रूपमा परिचालित रहेको बताए।
गृहमन्त्री अर्यालका अनुसार यसअघि लुटिएका हतियारहरू फिर्ता हुने क्रम जारी रहेको छ र समग्र शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा रहेको छ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा निर्वाचन सुरक्षा, शान्ति व्यवस्था र समन्वयका विषयमा विस्तृत छलफल भएको थियो।





