महोत्तरी, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बन्दै जाँदा महोत्तरी- ३ का मतदाताले सुशासनलाई प्रमुख मुद्दाका रूपमा अघि सारेका छन्। क्षेत्रका मतदाताले संविधान र कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक न्यायमा समान पहुँच र भ्रष्टाचारको अन्त्यको माग गरेका छन्।
जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, मनराशिसवा, पिपरा र एकडारा गाउँपालिकाका विभिन्न वडाका मतदाताले चुनावी अभियानमा खटिएका उम्मेदवारसँग सुशासन, कानुनी थिति र विधिको शासनबारे प्रश्न उठाएका छन्। लोकतान्त्रिक संविधान र ऐन कानुन भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा आम नागरिकले सुशासनको अनुभूति गर्न नपाएको उनीहरूको गुनासो छ।
मटिहानी–८ का मतदाता इसराफिल राइनका अनुसार संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा लागू हुन नसक्दा नागरिक निराश छन्। “संविधान र कानुन त छन्, तर तिनको निष्पक्ष कार्यान्वयन नहुँदा सामाजिक न्यायबाट धेरै नागरिक वञ्चित छन्,” उहाँले भन्नुभयो।
युवा मतदाताले पूर्वाधार निर्माणका सरकारी योजनामा व्याप्त बेथितिका कारण भ्रष्टाचार मौलाएको बताएका छन्। जलेश्वर–४ का धीरेन्द्र रायले पारदर्शिता र जवाफदेहिता नहुँदा विकास योजनामा संस्थागत बेथिति बढेको बताउनुभयो। उहाँले आसन्न निर्वाचनमा उम्मेदवारले भ्रष्टाचार नियन्त्रणका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो।
कृषि यहाँका नागरिकको प्रमुख पेसा भए पनि सरकारी सुविधाको वास्तविक लाभ किसानसम्म नपुगेको गुनासो पनि छ। स्थानीय प्रवीण कर्णका अनुसार पहुँच भएकाहरूले मात्र सुविधा पाउँदा वास्तविक किसान मारमा परेका छन्। “काममा पारदर्शिता र जवाफदेहिता स्थापित भए मात्र सुशासन अनुभूत हुन्छ,” उहाँले भन्नुभयो।
विकास निर्माणमा उपभोक्ता समितिदेखि सरकारी निकायसम्म ‘सेटिङ’ मा काम हुने प्रवृत्तिले राजनीतिक क्षेत्रप्रति नै अविश्वास बढेको जलेश्वर–७ का हरिभूषण रायको भनाइ छ। उहाँले राजनीतिक क्षेत्रमा सुदृढ इच्छाशक्ति भए मात्र यस्तो बेथिति अन्त्य हुने बताउनुभयो।
यसैबीच, जलेश्वर, एकडारा र मटिहानीका बस्ती वर्षेनि बर्खायाममा डुबानमा पर्दै आएका छन्। रातु र बिगही नदी नियन्त्रणका लागि पक्की तटबन्ध निर्माण हुनुपर्ने स्थानीयको माग छ। यी समस्या बुझेर समाधानको पहल गर्नसक्ने उम्मेदवार चाहिएको जलेश्वर–८ का धिरु मण्डलले बताउनुभयो।
आसन्न निर्वाचनका लागि महोत्तरी–३ मा २६ स्वतन्त्रसहित १५ राजनीतिक दलका गरी ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। दलबाट एक जना र स्वतन्त्रतर्फ एक जना गरी दुई महिला उम्मेदवार रहेका छन्। जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।
यस क्षेत्रका कुल मतदाता संख्या एक लाख १० हजार ४३६ रहेको छ, जुन जिल्लाका अन्य निर्वाचन क्षेत्रभन्दा बढी हो। भारतसँग करिब २५ किलोमिटर सीमा जोडिएको यस क्षेत्रका मतदानस्थल संवेदनशील मानिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ७७ मतदानस्थलमा १४२ मतदान केन्द्र तोकिएको छ। सीमा क्षेत्रका मतदानस्थलमा उच्च सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।





