सप्तरी, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरी–३ का उम्मेदवार अमरकान्त चौधरीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानको लागि बोलाएको छ। अख्तियारले उक्त समूहलाई सप्तरीको डाक्नेश्वरी नगरपालिकामा उपस्थित गराउन पत्राचार गरेको छ।
पत्र अनुसार, “जिल्ला सप्तरी, डाक्नेश्वरी नगरपालिका–५ स्थित पर्नेश्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसहित केही व्यक्तिहरूले मिलेमतोमा भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको भन्ने उजुरी दर्ता भएको छ। उजुरीको अनुसन्धानको क्रममा उनीहरूसँग केही आवश्यक विषयमा सोधपुछ गर्नुपर्ने भएकाले, निजहरूको नागरिकताको प्रमाणित प्रतिलिपि सहितका कागजात उपलब्ध गराइ अख्तियारको कार्यालय, इटहरीमा उपस्थित गराइदिन अनुरोध गरिएको छ।”
अमरकान्त चौधरी पूर्व सांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा हुन्। उनले रास्वपाबाट सप्तरी–३ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् र चुनावी अभियानमा सक्रिय छन्।
अख्तियारको यस कदमले चुनावी मैदानमा चौधरी र अन्य सम्बन्धित व्यक्तिहरूको गतिविधि विषयमा व्यापक चर्चा सिर्जना गरेको छ। यस घटनापछि क्षेत्रीय मतदाता र राजनीतिक हलमा पनि ध्यानाकर्षण बढेको छ।





