जनकपुरधाम २२ माघ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र-४मा चुनावी माहोल चुलिएको छ। उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता गाउँ–बस्तीमा पुगेर मतदाता भेटघाट र प्रचार–प्रसारमा व्यस्त छन्।

क्षेत्र दक्षिणी सिमाना भारतसँग जोडिएको र पश्चिममा सर्लाही जिल्ला पर्ने भएकाले यहाँका बासिन्दा विकासका दृष्टिले पछाडि परेको अनुभव गर्छन्। स्वास्थ्य सेवा पर्याप्त नहुँदा बिरामीहरू भारत जान बाध्य छन्। सम्सी गाउँपालिका–६ का ३५ वर्षीय इम्तियाज अहमदले बताए, “कोही बिरामी परेमा भारतीय मुद्रा साट्न दौडनुपर्छ, बिरामी हुँदा सीतामढी पुग्नुपर्ने बाध्यता छ।”

क्षेत्रको स्वास्थ्य संरचना कमजोर छ। सोनमा, सम्सी र रामगोपालपुरका अधिकांश गाउँमा स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रले भरपर्दो सेवा नदिँदा बिरामीहरूलाई सिमानापारि जानुपर्छ। शेष सौरात, सम्सी–६ का ४० वर्षीय बासिन्दा, भन्छन्, “स्वास्थ्य उपचारसँग जोडिने विषय चुनावमा पर्याप्त महत्व पाएको छैन।”

शिक्षा र पूर्वाधारका अवस्था पनि चुनौतीपूर्ण छन्। रामगोपालपुर, मनराशिशवा र औरहीका बासिन्दा मडहा र हर्दी नदीको कटान तथा गुणस्तरीय विद्यालय नहुँदा समस्यामा छन्। किसानहरू अकासे खेतीमा निर्भर छन् भने सिँचाइको सुविधा नभएकोले समस्या बढ्दो छ।

 

मतदाताको चासो स्वास्थ्य, शिक्षा र विकासमा केन्द्रित छ। उम्मेदवारहरूले घरदैलोमा पुगेर सुविधा सम्पन्न अस्पताल, गुणस्तरीय विद्यालय, पक्की तटबन्ध र सिँचाइ योजना जस्ता आश्वासन दिइरहेका छन्। सोनमा–६ का रामप्रताप यादव भन्छन्, “हामी यसपालि स्पष्ट योजना र विकासको दूरदृष्टि देखाउने उम्मेदवारलाई मात्र मत दिनेछौं।”

क्षेत्रमा १३ राजनीतिक दल र २३ स्वतन्त्र उम्मेदवार मैदानमा छन्। महिला उम्मेदवारमध्ये दलगत चार र स्वतन्त्र तीन छन्। प्रमुख दलहरूमा नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेकपा संयुक्त, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, आम जनता पार्टी र जनता लोकतान्त्रिक पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !